शुक्रबार भारत जाँदै प्रधानमन्त्री देउवा, अझैँ भ्रमणको एजेण्डाबारे टुंगो छैन्


काठमाण्डु- प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैत १८ देखि २० गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेका हुन् । पाँचौं पटक प्रधानमन्त्री भएपछि देउवाले गर्न लागेको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हो ।

तर, अहिलेसम्म भ्रमणमा के एजेण्डा बोकेर जाने भन्नेबारे भने टुंगो लागेको छैन् । एजेण्डासँगै भ्रमणमा कति जना सहभागी हुने पनि टुंगो लागेको छैन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री देउवाको भारत भ्रमणको तयारीबारे जनाकारी दिँदै भ्रमणको एजेन्डाबारे छलफल चलिरहेको बताइन् ।

प्रवक्ता लम्सालका अनुसार देउवासँग भ्रमणमा कति जना जानेबारे समेत टुंगो लागेको छनै् । उनले भनिन्, ‘भ्रमणमा को सहभागी हुने र एजेन्डा के हुने अझै छलफल जारी छ । अहिले केही भन्न सक्ने अवस्था छैन ।’ मोदीले गएको पुस १५ गते नेपाली भूभाग लिपुलेकमा सडक विस्तार गर्ने घोषणा गरेका थिए । भारतले पछिल्लो पटक नयाँ राजनीतिक नक्सा जारी गर्दा लिपुलेकलाई पनि समेटेपछि यो भूमि विवादित बनेको छ ।

तर, नेपालसँगको सीमा विवाद समाधानका लागि वार्ता नगरी मोदीले दोस्रो पटक सडक विस्तारको कार्य अगाडि बढाएका थिए । यसबारे नेपालमा विरोध भइरहेको छ । सडक विस्तारबारे छलफल गर्न नेपालले पटकपटक स्तरीय राजनीतिक बैठक बस्न भारतलाई आग्रह गरेपनि भारतले वेवास्था गर्दै आएको छ ।

भ्रमणको दौरान प्रधानमन्त्री देउवाले मोदीसँग सिमा विवादबारेमा छलफल गर्ने आँकलन गरिएको छ । भ्रमणका बेला प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच चैत १९ गते द्विपक्षीय वार्ता हुनेछ । सोही दिन उनले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् । भारतका विदेशमन्त्री एस. जयशंकर र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्नेछन् ।प्रधानमन्त्री देउवाले नयाँ दिल्लीमा कार्यक्रमहरु सकेपछि उत्तर प्रदेशको वराणासी भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement