काठमाण्डु-नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सृजना गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।
कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले पार्टी कार्यालय सानेपामा बुधबार आयोजना गरेको नेपाल स्टार्टअप र एसएमई समिटको उद्घाटन गर्दै सभापति देउवाले गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा सानो लगानीले पनि रोजगारी र आत्मनिर्भरतामा सहयोग पुग्ने समेत बताए ।
स्टार्टअप उद्यम सञ्चालन गर्न सहुलियतपूर्ण ऋण, तालिम, सीप विकास र विशेष अनुदान पनि आवश्यक पर्ने भन्दै उनले सरकारको साथ, समर्थन र संरक्षकत्व अपरिहार्य हुने उल्लेख गरे । थोरै लगानीमै स्टार्ट अफ व्यवसायलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सके रोजगारीमा क्रान्ति ल्याउन सकिने उनले बताए ।
सभापति देउवाले कृषि, वन, जडिबुटी, पर्यटन, प्रविधि जस्ता क्षेत्रको समुचित विकासमा विशेष ध्यान दिनसके मुलुकको आर्थिक अवस्था उकास्न ठूलो टेवा पुग्न सक्ने समेत बताए ।
दुई दिनसम्म चल्ने सम्मेलनमा नेपालका विभिन्न साना तथा मझौला व्यवसायीहरूले आफ्नो उत्पादन र सेवाको प्रदर्शनी कार्यक्रम स्थलमा राखेका छन् । ८० वटा स्टलहरूबाट बिक्री, वितरण एवं जानकारी समेत गराइने छ ।
प्रतिक्रिया