भिम आचार्यलाई चुनाव हराउने शेरधन राईको यस्तो छ इतिहास ?


विराटनगर- शेरधन राई बुबा जागिरमान राई तथा आमा राम्रीमाया राईको कोखबाट २०२७ साल फागनु ११ गते आमचोक गाउँपालिका साविकको थिदिङखा गाविस भोजपुरमा जन्मिएका हुन् । समाजशास्त्रमा स्नातकोत्तर गरेका राई २०४४ सालमा राजनीतिक क्षेत्रमा प्रवेश गरेका हुन् ।राईले तीन वर्ष भूमिगत जीवन बिताएका छन् । एमाले वैकल्पिक पोलिटव्युरो सदस्य रहेका राई प्रदेश १ का सह–संयोजक हुन् ।

राईको जन्मस्थल भोजपुर सदरमुकामदेखि एक दिनको पैदल दुरीमा पर्छ । अहिले भने कच्ची सडक उनको गाउँमै पुगेको छ । सामान्य किसान परिवारमा जन्मिएका राईले विद्यालय पढ्न जाँदा बिहान बेलुका बस्तुलाई घाँस काट्नुपथ्यो ।

समाजका अन्यायविरुद्ध सानैदेखि लड्न तयार हुने राई २०४४ सालदेखि संगठित रुपमा अनेरास्ववियुको राजनीतिमा सक्रिय भए । ०४४ सालमा अनेरास्ववियुको प्राक सदस्य बनेका राई अखिलको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पूर्वाञ्चलको संयोजक बने ।

२०५४ सालमा एमाले विभाजन भयो । पार्टी विभाजन भएपछि भोजपुरका अधिकांश नेता मालेमा गए। उनी भने जिल्लामा पार्टीको नेतृत्व सम्हाल्ने जिम्मेवारीमा पुगे । त्यसपछि उनी जिल्लामा एमालेको शक्तिशाली नेता बने । २०५६ सालको संसदीय निर्वाचनमा राई कान्छो उम्मेदवारको रुपमा संसद बने । २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा राई दोस्रो पटक संसद बने । दोस्रो संविधानसभाकासमेत सांसद राईले संसदको सुशासन तथा अनुगमन समितिको सभापति भएर काम गरे ।

दोस्रो संविधानसभा सदस्य भएकै बेला राई पहिलो पटक मन्त्री बने । पहिलो पटक नै उनले सूचना तथा सञ्चार मन्त्री पाए । राई एमालेभित्रका युवा नेतामध्ये प्रभावशाली नेता हुन् । राई एमालेको टुटफुटबाट कहिल्यै विचलित नभएका नेता हुन् । दोस्रो संविधानसभाको सदस्य हुँदा सुशासन समितिको सभापति बनेका राईले अख्तियार दुरुपयोग अनुसन्धान आगोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई समेत समितिमा बोलाएर स्पष्टीकरणा सोधेका थिए । शक्तिशाली प्रमुख आयुक्त मानिएका कार्कीलाई स्पष्टीकरण सोधेपछि राष्ट्रिय राजनीतिमा राईको चर्चा बढेको हो ।

शुक्रबार दिउँसो मोरङको जिल्ला समन्वय समितिको कार्यालयमा भएको मतदानमा राई प्रदेश १ एमाले संसदीय दलको नेतामा निर्वाचित भएका हुन् । एमाले सचिवसमेत रहेका भीम आचार्यलाई पराजित गर्दै पोलिटब्युरो सदस्य राई प्रदेश १ को संसदीय दलको नेता बनेका हुन् । संसदीय दलको नेता बनेसँगै राईको प्रदेश १ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।

एमाले संसदीय दलको नेतामा विजयी भएका राईले २६ मत ल्याएका छन् । उनीसँग पराजित एमालेका सचिव तथा प्रदेश नम्बर १ का संयोजक भीम आचार्यले २४ मत ल्याएका छन् । एक मत भने बदर भएको छ ।

यसअघि संसदीय दलको नेतामा दाबी गर्दै आएका नेता जीवन घिमिरेले उम्मेदवारी फिर्ता लिएपछि दुई नेताबीच भिडन्त भएको हो । संसदीय दलको नेताका लागि राईको उम्मेदवारीमा प्रस्तावक र समर्थकमा सुनसरीका जगदीश कुसियत र झापाका हिक्मत कार्की थिए । संसदीय दलको नेतामा विजयी राई एमाले अध्यक्ष ओलीनिकट हुन् भने पराजित आचार्य वरिष्ठ नेता झलना खनाल र माधव नेपालनिकट हुन् । अन्नपूर्ण पाेस्टबाट

प्रतिक्रिया दिनुहोस
Advertisement