सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : मन्त्री खनाल

सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : मन्त्री खनाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनालले सिमाना सम्बन्धी विषय नेपाल र भारतबिचको घनिष्ठ सम्बन्धको मर्म र भावनाअनुरूप ऐतिहासिक सन्धि, सम्झौता र नक्साका आधारमा कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा सांसदका प्रश्नको जवाफ दिँदै उनले मित्रराष्ट्रसँग पारस्परिक लाभ सम्मान र बहुपक्षीय सहकार्यमा आधारित सम्बन्ध विस्तार गरिने बताए ।

मन्त्री खनालले मुलुकको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय हितलाई केन्द्रमा राखी संयुक्त राष्ट्रसंघको बडापत्र, असलग्नता र पञ्चशिलको सिद्धान्तमा आधारित सन्तुलित कूटनीतिक अवलम्बन गरिने बताए ।

नेपालको मौलिक पहिचान, भाषा, कला र सम्पदालाई विश्व मञ्चमा स्थापित गर्दै सौम्य शक्ति विस्तार गर्ने तथा विदेशस्थित नेपाली नियोगमार्फत नेपालको विश्वव्यापी पर्यटनको प्रवर्द्धन गर्न अभियान सञ्चालनमा ल्याइने बताए ।

परराष्ट्र नीतिको प्रभावकारी कार्यान्वयनका लागि आगामी आवको बजेटमा भएका व्यवस्था सम्बन्धमा अवगत गराउँदै उनले मन्त्रालय र अन्तर्गतका निकायका लागि आगामी आवमा ८ अर्ब ७३ करोड बजेट विनियोजन गरिएको बताए । विनियोजित रकम गत वर्षको तुलनामा ११ प्रतिशतले वृद्धि हो । 

मन्त्री खनालले भने, ‘परम्परागत कूटनीतिलाई आधुनिक रूपमा रूपान्तरण गर्ने लक्ष्यअन्तर्गत नेपाललाई सूचना प्रविधि र नवप्रवर्तन, शिक्षा र स्वास्थ्य क्षेत्रका लागि अन्तरराष्ट्रिय गन्तव्य बनाउन पर्यटन पूर्वाधार, ऊर्जा, सूचना प्रविधि जस्ता क्षेत्रमा विदेशी लगानी प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ ।’

उनले आर्थिक कूटनीतिक कार्यक्रमका लागि नेपाली नियोगहरूलाई बजेट छुट्याइएको जानकारी गराएका छन् ।

राहदानी र कन्सुलर सेवालाई डिजिटलाइज्ड गर्न मन्त्रायलले प्राथमिकता दिएको उनको भनाइ थियो । मन्त्री खनालले गैरआवासीय नेपालीको ज्ञान, सीप, पूँजी, प्रविधि र नेटवर्कलाई नेपालको विकास र समुन्नतिका लागि उपयोग गर्न तथा गैरआवासीय नेपालीलाई संविधानद्वारा प्रदत्त आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारलाई सुनिश्चित गर्न गैरआवासीय नेपाली सम्बन्धी ऐनलाई परिमार्जन गर्ने विषय प्राथमिकतामा राखी मस्यौदा तयार गरिएको समेत बताए ।