श्रीमतीको हत्या गरि आलुबारीमा पुरेको १५ दिनपछि क‌ंकाल फेला


पाँचथर- श्रीमती हराएको उजुरी दिएको १५ दिनमा प्रहरीले हराएकी महिलाको शवको कंकाल फेला पारेका छन् ।

फिदिम नगरपालिका ३ का ६१ वर्षीय डिकबहादुर सुनुवारले ४२ वर्षीया श्रीमती गंगामाया सुनुवार हराएको प्रहरी चौकी पौवाभञ्ज्याङमा मौखिक उजुरी दिएको प्रहरीले जनाएको छ ।

सुनुवारको उजुरीको आधारमा प्रहरीले ती महिलाको खोजी कार्य शुरु गरेको थियो ।

सुनुवारले मौखिक उजुरी दिएपछि आफ्नै घरमा बस्दै आएका उनको गतिविधिमा शंका देखिएपछि प्रहरीले आइतबार उनलाई नियन्त्रणमा लिइ सोधपुछ र अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानको क्रममा डिकबहादुरले गत फागुन ५ गते मध्यरातमा श्रीमतीको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

सोधपुछपछि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव निरीक्षक विष्णुबहादुर खड्काको कमाण्डमा गंगामायाको शवको कंकाल घरकै आलुबारीमा पुरेको अवस्थामा टोलीले फेला पारेको हो ।

फेला परेको कंकाल पाँचथर जिल्ला अस्पतालमा पोष्टमार्टम गरि अन्तिम संस्कारका लागि आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

सुनुवारलाई पाँचथर जिल्ला अदालतबाट म्याद थप गरि कर्तव्य जान मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement