कालापानीबारे मोदीको ‘म्यान्डेट’ लिएर काठमाडौँ पुगे भारतीय पूर्वविदेश सचिव


काठमाडौैँ— भारतीय पूर्वविदेश सचिव श्याम सरण काठमाडौँ आएका छन्। नेपालका लागि  भारतीय पूर्वराजदूत समेत रहेका सरण आइतबार इन्डिको एयरलाइन्सको विमानमा काठमाडौँ आएका हुन्। उनी सन् २००४ देखि २००६ सम्म विदेश सचिव थिए।

भारतले राजनीतिक नक्शामा कालापानी क्षेत्रलाई समेत आफ्नो भुभाग देखाएपछि त्यसप्रति नेपाल सरकारले तीव्र असन्तुष्टि जनाइरहेका बेला उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘म्यान्डेट’ लिएर यहाँ आएका हुन्। सरण होटल  म्यारियटमा बसेका छन्।

काठमाडौँ बसाइका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै मधेस केन्द्रित दलका शीर्ष नेताहरुसँग भेट्ने कार्यक्रम छ। सरण असारको दोस्रो साता पनि काठमाडौँ आएका थिए। नेपाली राजनीतिबारे जानकार उनी प्रायः अनौपचारिक भ्रमणमा आइरहन्छन्।  सरण तिनै व्यक्ति हुन्, जसले गणतान्त्रिक आन्दोलनकालागि दलहरुलाई १२ बुँदे दिल्ली सम्झौताको ‘डिजाइन’ गरेका थिए।

भारतले कालापानीसहितका क्षेत्र आफ्नो मुलुकको भुभाग भनि नक्शामै देखाएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत् आफ्नो भुभाग रहेको बताइसकेको छ, भने नेपालका प्रमुख दलका शीर्ष नेताहरु सो विषयमा एकमत छन्। नेपालका प्रतिक्रियापछि भारतीय अधिकारीहरूले सो विषयमा परराष्ट्र सचिव स्तरीय संयन्त्रमा छलफल गरी टुंग्याइने बताए पनि नेपालका नेताहरु यो विषय लामो समयदेखि विवादित बनिरहेको र प्रधानमन्त्री स्तरमै डिल हुनुपर्ने बताइरहेका छन्।

आइतबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक क्षेत्रमा रहेका भारतीय सुरक्षाकर्मी हटाइने बताएका थिए। भारतको उक्त कमदको विरोधमा नेपालमा सत्तारुढसँगै प्रतिपक्षी दल निकट विद्यार्थी संघसंगठनहरुले दिनहुँ विरोध प्रदर्शन गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement