सिद्धबाबालाई थुनामा पठाउन उच्च अदालतको आदेश, सूचना चुहिएपछि भारत फरार


काठमाडौं – अनुयायीमाथि बलात्कार गरेको मुद्दा खेपिरहेका चताराधामका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई उच्च अदालत विराटनगरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

मुख्यन्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले उनलाई थुनामा पठाउने आदेश गरेको हो । जिल्ला अदालत सुनसरीले तीन लाख धरौटीमा छोड्न गरेको आदेश बदर गर्दै उनलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको रजिष्टार जितेन्द्र थपलियाले जानकारी दिए ।

उच्च अदालत विराटनगरमा मुद्दाको सुनुवाइ भइरहँदा गिरी भने भारत छिरिसकेका छन् । बिहीबार दिउँसो १ बजे उनी ग१च ८१५७ नम्बरको पजेरो चढेर जोगबनीबाट पारी गएका हुन् । उनलाई सूचना चुहाइएपछि भारत फरार भएको स्रोतको दाबी छ ।

सरकारले उपलब्ध गराएको निजी सुरक्षा गार्ड नेपाल प्रहरीका हवल्दार मुकेश साहलाई भने नेपाल–भारत सीमा क्षेत्रबाटै फिर्ता पठाइदिएर विराटनगरको जोगवनी नाका हुँदै उनी भारततर्फ लागेको श्रोतले जानकारी दियो । स्रोतकाअनुसार सिद्धबाबाले कहिले नेपाल फर्किने भन्ने बारेमा केही पनि कुरा जानकारी गराएका छैनन् ।

सुनसरीको चतरास्थित आफ्नो आश्रमबाट केही समर्थक र अनुयायीका साथमा उच्च अदालत जाने भनेर हिँडेका सिद्धबाबा अदालत नपुगिकन सिधै जोगवनी हानिएका थिए ।

‘हामी पारी पुगेर आउँछौं भन्दै निजी सुरक्षा गार्डलाई सीमामा ओरालेर केही अनुयायीका साथमा सिद्धबाबा भारततिर गएको पाइयो,’ मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले भने, ‘उनी किन उता लागे भन्ने बारेमा यकिन भइसकेको छैन ।’

प्रतिक्रिया दिनुहोस
Advertisement