काठमाण्डु-सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा सुरुङमार्ग शुक्रबार ब्रेक थ्रु हुँदै छ । १ हजार १२६ मिटर लामो सुरुङमार्ग ब्रेक थ्रुका लागि मुख्य टनेल खनेर १ दशमलव ५ मिटर मात्रै बाँकी राखिएको छ । शुक्रबार सो भागलाई प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ब्लास्ट गरिने कार्यक्रम छ । कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसहित अन्य मन्त्री तथा सांसदहरूको पनि सहभागिता रहनेछ ।
सुरुङमार्ग निर्माण गर्न चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाखमा ठेक्का लिएको थियो । सुरुङमार्गको तीनवटै बाइपासको ब्रेक थ्रु भने पुसको पहिलो साताअगाडि नै भएको थियो । त्यसपछि मुख्य टनेलको काम तीव्र पारिएको थियो ।
आयोजनाकी सूचना अधिकारी इन्जिनियर सविता ज्ञवालीका अनुसार सुरुङभित्र केही समस्या आए बाइपासबाट निस्कन मिल्ने गरी तीनवटा बाइपास बनाइएको हो । तेस्रो र पहिलो बाइपासको ब्रेक थ्रु २६ भदौ तथा ४ असोजमा भएको थियो भने दोस्रो बाइपासको ब्रेक थ्रु गत ७ पुसमा गरिएको थियो । पहिलो बाइपासको लम्बाइ एक सय ५१ मिटर, दोस्रोको एक सय ६१ र तेस्रोको एक सय ३० मिटर रहेको छ । सिद्धार्थ राजमार्ग भएर साना–ठुला दैनिक हजारौँ सवारी बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङलगायत लुम्बिनी र गण्डकीका पहाडी जिल्लाहरूमा ओहोरदोहोर गर्छन् ।
शुक्रबार ब्रेक थ्रु हुन लागेको सिद्धबाबा सुरुङमार्गको प्रगति करिब ४० प्रतिशत रहेको छ ।
यसैगरी, पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिंगे सडकखण्ड विस्तारको शुभारम्भ पनि शुक्रबार गरिँदै छ । सुरुङमार्गको ब्रेक थ्रुपछि सडक विस्तारको शुभारम्भ प्रधानमन्त्री ओलीले गर्ने कार्यक्रम तय गरिएको छ । आयोजनाका अनुसार ५० किलोमिटर लामो सडक विस्तारको शुभारम्भ बुटवलमा गरिँदै छ ।
बुटवल–गोरुसिंगे सडकखण्ड वन्यजन्तु तथा वातावरणमैत्री बनाउने गरी निर्माण अगाडि बढाइएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको ५० किलोमिटर लामो सडक विस्तारका लागि दुई खण्डमा गरी १३ अर्ब ५५ करोड ६५ लाखको ठेक्का सम्झौता भई काम अगाडि बढाइएको छ । काम सुरु गरेको तीन वर्षभित्र सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप र आशिष् निर्माण सेवा नेपाल जेभीसँग सम्झौता भएको सडक विस्तार आयोजनाले जनाएको छ ।
कपिलवस्तुको चन्द्रौटासम्म विस्तार गर्ने योजना रहे पनि पहिलो चरणमा बुटवल–गोरुसिंगे सडकखण्डको काम अगाडि बढाइएको छ । बुटवल–गोरुसिंगे सडकखण्ड वन क्षेत्रमा २४ मिटरदेखि सहरी क्षेत्रमा ५० मिटरसम्मको बनाइँदै छ ।
प्रतिक्रिया