एनआरएनए अध्यक्ष भट्टले मागे बालुवाटार जग्गाको क्षतिपूर्ति


सिड्नी – गैरआवासीय नेपाली संघ (एनआरएन) ले बालुवाटारस्थित संघ कार्यालय रहेको जग्गा सरकारले फिर्ता लगेमा क्षतिपूर्ति दिनुपर्ने गरेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले बालुवाटारस्थित संघ कार्यालय रहेको जग्गा सरकारले फिर्ता लगेमा क्षतिपूर्ति दिनुपर्ने बताएका हुन् ।

अष्ट्रेलियाको सिड्नीमा भएको ओसेनिया क्षेत्रको बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘सरकारको जग्गा बेच्ने मान्छे गलत हो । कि उसलाई कारवाही गरेर सरकारले हामीलाई क्षतिपूर्ति दिनुपर्यो ।’

आवश्यक परे मन्त्रिपरिषद् बैठकमा उक्त निर्णय लैजाने बताएका हुन् । एनआरएनएले २०७२ जेठ १४ गते ललिता निवास क्याम्पाभित्रको जग्गा खरिद गरेको थियो । तत्कालीन उपाध्यक्ष भट्ट त्यतिबेला जग्गा खरिद गर्ने कार्यका लागि एनआरएनएद्वारा गठित समितिको संयोजक थिए ।

भाटभटेनी मालिक मीनबहादुर गुरुङसँगको साँठगाँठमा संघले सो जग्गा खरिद गरेको थियो । त्यतिबेला संघको अध्यक्ष शेष घले थिए ।

अध्यक्ष भट्टले भने, ‘यदि सरकारले यो गलत काम भयो भन्छ भने त्यसमा हाम्रो जति खर्च भएको छ त्यो सरकारले क्षतिपूर्ति दिनुपर्छ । बकाइदा राजश्व तिरेर, लालपूर्जा लिएर, नगरपालिकाको निर्माण अनुमति लिएर र भवन सम्पन्नको सर्टि्फिकेट लिइसकेको सम्पत्तिलाई कसरी फिर्ता लान पाइन्छ ?’

मन्त्रिपरिषदबाट निर्णय गराएरै जग्गा लिएको उनको भनाइ थियो । आवश्यक परे फेरि पनि मन्त्रिपरिषदबाट निर्णय गराउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement