सिमलताल बस दुर्घटना अपडेट : १९ शव फेला, १४ को सनाखत

सिमलताल बस दुर्घटना अपडेट : १९ शव फेला, १४ को सनाखत


काठमाण्डु-चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये हालसम्म १९ को शव फेला परेको छ । सशस्त्र प्रहरी बल नेपालका नुसार तीमध्ये १४ शवको सनाखत भएको छ भने बाँकी पाँचजनाको सनाखत हुन बाँकी छ ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बुधवार बेलुकासम्म १९ जनाको शव फेला परेको र बाँकीको खोजी कार्य जारी रहेको जानकारी दिए । बुधवार भेटिएकामध्ये भारतका ऋषिपल साह, चितवन माडिका विकास परियार, सर्लाहीका रमित कुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवन भरतपुरका सुदिप विक, बाराका परमानन्द पण्डित र चन्द्रानिगापुरका किशोरकुमार चौधरीको सनाखत भएको छ ।

यसैगरी रौतहटका अशोककुमार यादव, ऋषि कुमार सिंह, भारतका विवेक कुमार, सर्लाहीका जितेन्द्रराम महरा, पर्साकी चन्द्रप्रभा कुमारी र रौतहटकी अमृता कुमारीको शव पनि सनाखत भएको छ । उनका अनुसार अन्य पाँच जना पुरुषको सनाखत हुन बाँकी छ ।

गत शुक्रवार बिहान भरतपुर महानगरपालिका–२९ नारायणगढ मुग्लिङ सडकखण्डको सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नं को एञ्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नं. को गणपती डिलक्सको बस पहिलोमा परी त्रिशूली नदीमा बेपत्ता भएका थिए । दुवै बसमा गरी ६५ यात्रु रहेको थिए । बसमा सवार रौतहटका नन्दन दास, जुगेश्वर यादव र सरोजकुमार गुप्ताले हाम फालेर ज्यान जोगाएका थिए । रासस