काठमाण्डु– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ लिपिङमा पहिरो खसेपछि नेपाल–चीन जोड्ने अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सडक बन्द भएसँगै तातोपानी नाका हुँदै हुने सवारी आवागमन र मालसामान ढुवानीसमेत प्रभावित बनेको छ ।
इलाका प्रहरी कार्यालय कोदारीका अनुसार मंगलबार बिहान करिब ९ः३० बजे सडकमाथिबाट पहिरो झरेपछि दुवैतर्फी यातायात रोकिएको हो ।
सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी काजीकुमार आचार्यले पहिरोका कारण सडक भासिएको जानकारी दिए । उनका डोजरले पहिरो पन्छाएर सडकलाई सुरक्षित बनाउन रिटेनिङ वाल निर्माण गर्नुपर्ने भएको छ । माथिबाट पहिरो झर्ने जोखिम कायमै रहेकाले तत्काल सडक खुलाउन नसकिएको उनले बताए ।
सडक अवरुद्ध हुँदा चीनसँगको प्रमुख व्यापारिक मार्गसमेत प्रभावित बनेको छ । दैनिक रूपमा तातोपानी नाका हुँदै सञ्चालन हुने मालवाहक ट्रक तथा अन्य सवारीसाधन बीच बाटोमै रोकिएका छन्।
सडक पुनः सञ्चालनका लागि सम्बन्धित निकायले क्षतिको मूल्यांकन तथा आवश्यक प्राविधिक तयारी गरिरहेको प्रहरीले जनाएको छ ।
पहिरोको जोखिम कायम रहेकाले सर्वसाधारणलाई उक्त सडकखण्डमा यात्रा नगर्न र वैकल्पिक व्यवस्था अपनाउन आग्रह गरिएको छ ।




प्रतिक्रिया