यातायात सिन्डिकेटको मनोबल ध्वस्त


काठमाडौ‌ – यात्रुलाई सास्ती दिएर सरकारलाई झुकाउँदै आएका यातायातका ठेकेदारहरूलाई यस पटक सरकारले मेरुदण्डमै प्रहार गरेको छ। यातायात अवरुद्ध गर्ने योजना बनाइरहेका वेला बैठकमै हस्तक्षेप गरेर प्रहरीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यसहित पाँच पदाधिकारीलाई शनिबार पक्राउ गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा जीवन बस्नेतले लेखेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य, वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँर, उपमहासचिव वसन्त भण्डारी, कोषाध्यक्ष किरणकुमार खड्कासहित केन्द्रीय सदस्य धर्म धिमाल पक्राउ परेका हुन्। यसअघि शुक्रबार महासंघका महासचिव सरोज सिटौलासहित देशभर ११४ जना पक्राउ परेका थिए।

देशभरबाट पक्राउ परेका सिन्डिकेट पक्षधरलाई सरकारले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ अनुसार कारबाही अघि बढाउने तयारी गरेको छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा प्रवक्ता तथा एसपी नरेन्द्र उपे्रती भन्छन्, ‘आवश्यक सेवा अवरुद्ध गरेको आरोपमा पक्राउ परेकालाई कानुनअनुसार बढीमा एक वर्षसम्मको कैद सजाय र एक हजार रुपैयाँसम्मको जारिवाना हुनेछ । यही कानुनी व्यवस्थाअनुसार नै आइतबारदेखि प्रक्रिया थालिनेछ ।’

यातायात व्यवस्था विभागले शुक्रबार रुट अनुमति खारेज गरेका २६ वटा माइक्रोबसले ६ महिनासम्म सेवा सञ्चालन गर्न नपाउने भएका छन् । अनुमति खारेज भएर पनि सञ्चालन गर्न खोज्ने दुई माइक्रो शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement