उपप्रधान तथा सहरी विकासमन्त्री सिंहको सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ, सर्वत्र आलोचना

उपप्रधान तथा सहरी विकासमन्त्री सिंहको सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ, सर्वत्र आलोचना


काठमाण्डु – उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले तीन वटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर सुरक्षा अवस्थाबारे ब्रिफिङ लिएपछि अहिले सर्वत्र आलोचना भइरहेको छ ।

बुधबार सिंहदरबारमा साँझ उपप्रधानमन्त्री सिंहले तीन सुरक्षा निकायका प्रमुखसँग भेट गरेको तस्बिर राख्दै लेखेका छन्, ‘मन्त्रालयमा तीन वटै सुरक्षा निकाय नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकसँग भेटघाट गरी देशको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएको छु ।’

नेपाल प्रहरीका महानिरीक्षक आईजी वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापासँग आफूले भेटघाट गरेको तस्बिर सिंहले फेसबुकमा राखेको स्ट्याटस्मा राखिएको छ ।

आफ्नो मातहतमा नै नरहेका सुरक्षा निकायका प्रमुखलाई बोलाएर ब्रिफिङ लिएको भन्दै सिंहको सामाजिक सञ्जाल र मिडियामा आलोचना भएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी गृह मन्त्रालय मातहत पर्छन् भने राष्ट्रिय अनुसन्धान विभाग भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत पर्छन् ।

धेरैले मन्त्री सिंहले फेसबुकमा लेखेको ‘देशको पछिल्लो सुरक्षा अवस्थाबारेको जानकारी लिएको’ भनेर लेखेको वाक्यलाई धेरैले अस्वभाविक भनेका छन् ।

प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली छन् भने गृहमन्त्री नेपाली कांग्रेसका नेता रमेश लेखक छन् ।

आलोचना भएपछि सिंह निकटका नेता कार्यकर्ताहरूले भने त्यो बधाई भेट मात्र भएको भन्दै ढाकछोप गरिरहेका छन् । सिंहका स्वकीय सचिव युपी लामिछानेले भेट बधाईका लागि मात्रै भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

सुरक्षा मामलामा जानकारहरू सहरी विकासमन्त्री सिंहले सुरक्षा निकायका प्रमुखसॅग ब्रिफिङ लिन नमिल्ने बताउँछन् ।

यस्तो छ उपप्रधानमन्त्री सिंहले फेसबुकमा राखेको स्ट्याटस्