काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनाल र भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच बिहीबार परराष्ट्रमन्त्री खनालको कार्यकक्षमा शिष्टाचार भेटवार्ता भएको हो ।
उनीहरूबीच नेपाल–भारतबीच पारस्परिक हितका विविध क्षेत्रमा रहेको निकट तथा दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यस्तै परराष्ट्रसचिव अमृत बहादुर राईसँग पनि उनले आजै भेट गरेका छन् । भेटमा नेपाल–भारतबीच जारी द्विपक्षीय सहयोगको प्रगतिबारे समीक्षा गर्दै प्राथमिकताका क्षेत्रहरूमा साझा कार्यसूचीलाई अगाडि बढाउने विषयमा विचारविमर्श भएको थियो ।
नेपाल–भारतबीचको दीर्घकालीन मित्रता र बहुआयामिक साझेदारीप्रति पुनः प्रतिबद्धता व्यक्त गर्दै संस्थागत सहकार्यलाई अझ सुदृढ बनाउने तथा उच्चस्तरीय सम्पर्क र संवादको निरन्तरतालाई कायम राख्ने उपायबारे पनि छलफल भएको उक्त मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया