एउटै फिल्मलाई दुई-तीन वर्ष दिन सक्दिनँ : प्रभाष


एजेन्सी – सुपरस्टार प्रभासले एउटै फिल्मलाई दुई तीन वर्ष दिन नसक्ने बताएका छन् ।
शनिबार एक्सन थ्रिलर फिल्म ‘साहो’ को ट्रेलर सार्वजनिक गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।

प्रभासले ट्रेलर लञ्चका क्रममा आफूले साहोलाई २ वर्ष दिन नचाहेको बताए । उनले भने, ‘म यो फिल्मलाई दुई वर्ष दिन चाहन्न थिएँ । किनकि, यसअघि फिल्म ‘बाहुबली’ मा पनि मैले ४ वर्ष दिइसकेको छु । तर, एक्सन सिक्वेन्सका लागि हामीलाई निकै तयारी गर्नुपर्ने थियो । केही एक्सन सिनमा हामीले एक वर्ष समय खर्चिएका छौं । केही सिन परिवर्तन पनि गर्नुर्पयो ।’

प्रभासले नयाँ फिल्मको छायांकन सुरु गरिसकेका छन् । बेनामे फिल्मलाई निर्देशन केके राधा कृष्णाले गरिरहेका छन् । यो फिल्मलाई लिएर उनले भने, ‘मैले नयाँ फिल्मको छायांकन सुरु गरिसकेको छु । २० दिनको छायांकन पनि पूरा भइसकेको छ । ‘साहो’ पछि वर्षमा दुई फिल्म गर्ने मेरो सोच छ । अब म एउटै फिल्मलाई २–३ वर्ष दिन सक्दिनँ ।’

‘साहो’ ३० अगस्टमा रिलिज हुँदैछ । यसलाई तमिल, तेलुगू र हिन्दी भाषामा रिलिज गरिँदैछ । फिल्ममा श्रद्धा कपूर, अमृता नैय्यर, ज्याकी श्राफ, चंकी पाण्डे, महेश मान्जरेकर, नील नितिन मुकेशलगायतको अभिनय छ । फिल्ममा प्रभास क्राइम ब्रान्च अफिसरको भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement