प्रधानमन्त्रीकी पत्नी चुनाव लड्ने जिल्लाका प्रहरी प्रमुखको सरुवा, नवराज सिलवाल चुनाव लड्ने क्षेत्रमा को आए?


काठमाडौं– प्रहरी प्रधान कार्यालयले निर्वाचनको मुखैमा थप तीन जना प्रहरी उपरीक्षक (एसपी) र एक जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ।

 

 

 

आचारसंहिता जारी भएका बेला प्रहरी प्रधान कार्यालयलले प्रधानमन्त्री शेरबहादुर देउवाको योजना अनुरुप कैलाली, सुर्खत र स्याङ्जाका एसपी तथा ललितपुरका डीएसपीको सरुवा गरेको हो। स्मरण रहोस् गृहमन्त्रालय प्रधानमन्त्री देउवाले नै सम्हालेका छन्।

 

 

 

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी जनकराज पाण्डेको सरुवा भएको छ। कैलाली प्रहरी प्रमुखको जिम्मेवारी ट्राफिक महाशाखाका एसपी विनोद घिमिरेलाई दिइएको छ।

 

 

 

स्मरण रहोस् कैलालीको सदरमुकाम रहेको क्षेत्र नम्बर ५ धनगढीमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवा चुनावी मैदानमा छन्। उनका मुख्य प्रतिस्पर्धी वाम गठबन्धकातर्फबाट एमाले नेता नारदमुनी राना हुन्। चुनावको मुखैमा प्रधानमन्त्रीकी पत्नी चुनाव लड्ने जिल्लाका प्रहरी प्रमुखको हेरफेर हुनुलाई शंसयका रुपमा लिइएको छ।

 

 

 

यसैगरी, सुर्खेत प्रहरी प्रमुखमा अख्तियारमा कार्यरत एसपी उमाप्रसाद चतुर्वेदीको सरुवा गरिएको छ।

 

 

 

 

 

उपयुक्त ठाउँ नदिएर आफूलाई सरुवामा अपमानित गरेको भन्दै स्याङ्जाका एसपी गोरखसिंह भण्डारी लामो घरबिदामा बसेपछि खाली रहेको स्याङ्जा प्रहरी प्रमुखको जिम्मेवारी एसपी प्रदीपकुमार श्रेष्ठले पाएका छन्।

 

 

 

 

नेपाल प्रहरीका पूर्वडीआईजी तथा हाल एमालेबाट ललितपुर क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाका उम्मेदवार नवराज सिलवालको मान्छे भन्दै गतहप्ता मात्रै चापागाउँ वृत्तबाट मेट्रो तानिएका डीएसपी आभूषण तिम्सिनाको ठाउँमा प्रहरी एकेडेमीमा कार्यरत डीएसपी रवीन्द्र रेग्मी गएका छन्।

 

 

 

 

डीएसपी तिम्सिनाले सिलवाललाई सहयोग गर्न सक्ने भन्दै कांग्रेस नेताको दबाबमा सरुवा गरिएको आशंका गरिएको छ।

 

 

 

 

तिम्सिनाले चापागाउँमा सरुवा हुनेबित्तिकै अवैध क्रसर उद्योगहरु बन्द गर्दै जनप्रिय काम गरेका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement