प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता,के-के भयो कुराकानी?


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएकाे छ । संसदको जारी अबरोध खुलाउनका लागि प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच शुक्रबार बिहान बालुवाटारमा भेटवार्ता भएको हो।

बिहान ९ बजे भएको छलफलमा सभामुख घिमिरेले सदन सञ्चालन हुन नसक्दा प्राकृतिक विपत्ति लगायतका धेरै विषयमा सांसदहरूले बोल्न नपाएको गुनासो बढेको बताएका थिए।

‘सदन नचल्नु राम्रो भएन । माननीयहरुले बोल्न समय माग्नुभएको छ । प्राकृतिक विपत्ति लगायतका धेरै विषयमा माननीयहरुले बोल्न पाइनँ भन्नुहुन्छ । दलिय सहमति बिना सदन अगाडि बढ्न सक्ने स्थिति छैन । आम जनताले पनि सदन अवरोधलाई राम्रो मानेका छैनन्,’ सभामुख घिमिरेले प्रधानमन्त्री समक्ष भने, ‘कम्तिमा सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरिदिनुहोस् । समितिको नेतृत्व चयन हुन सकेको छैन । संसदमा कानून निर्माण भएनन् भन्ने गुनासो छ ।’

उनले सो भेटमा अगाडी भने, ‘सभामुखको रुपमा मैले सहमतिका लागि जिम्मेवारीपूर्वक पहल गरेको छु । तर, परिणाममा निस्किन सकेन । शीर्ष नेताहरु नै घण्टौं बस्दा पनि सहमति भएन ।’

आफनो निवासमा भेटन आएका सभामुख घिमिरेलाई प्रधानमन्त्री दाहालले भने, ‘म पनि सदन खुलाउन भूमिका खेल्छु । तपाईं पनि लाग्नुहोस् । छिट्टै सहमति गर्नैपर्छ । म प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्छु ।’

प्रतिक्रिया दिनुहोस
Advertisement