एसपीपी अघि बढाउने विशेष जिम्मेवारी लिएर नेपाल आइपुगे नयां अमेरिकी राजदूत


काठमाण्डु- नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसन नेपाल आइपुगेका छन् । अमेरिकी राजदूत र्‍याण्डी बेरी चार वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किएपछि थम्पसन बिहिवार नेपाल आइपुगेका हुन् । बेरी गत आइतबार मात्र स्वदेश फर्किएका थिए ।

थम्पसनले गत शुक्रबार शपथ ग्रहण गरेका थिए । थम्पसन राजदूत नियुक्त हुनुभन्दा अघि अमेरिकाका लागि दक्षिण तथा मध्य एसियाली मामिला व्युरोका उपसहायक सचिवको जिम्मेवारीमा थिए । उनी दक्षिण एसियाली मामिलाका जानकार समेत हुन् ।

सुरक्षा क्षेत्रमा विशेष दखल राख्ने नवनियुक्त राजदूतले एसपीपीलाई अघि बढाउने विशेष मिसनका साथ नेपाल आएको स्रोतको दावी छ । सरकारले एसपीपीमा सहभागित नहुने निर्णय गरेपनि अमेरिकी सरकारलाई पठाएको पत्र भने गोप्य राखेको छ ।

अमेरिकी कूटनीतिमा २५ वर्षभन्दा बढी अनुभव भएका थम्पसनसंग यसअघि मलेसियाको क्वालालम्पुरस्थित अमेरिकी दूतावासमा डेपुटी चिफ अफ मिसन, भारतको कोलकातामा अमेरिकी कन्सुलर जनरल र श्रीलंकाको कोलम्बोस्थित अमेरिकी दूतावासको आर्थिक तथा वाणिज्य मामिला विभाग प्रमुखको रुपमा काम गरेको अनुभव छ ।

अमेरिकी दूतावासले आउँदा केही दिनहरू राजदूत थम्प्सन र उनकी पत्नी जेनले नयाँ वातावरणमा अभ्यस्त हुन र नेपालस्थित अमेरिकी मिशन परिवारसँग भेटघाट गर्नमा बिताउने भन्दै त्यसपछि नेपाल सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्ने कार्यक्रम रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement