श्रीलंकाका प्रधानमन्त्री र परराष्ट्रमन्त्री पौड्यालबीच भेटवार्ता


काठमाण्डु – परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग शिष्टाचार भेट गरेकी छन्।

श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुगेकी मन्त्री पौड्यालले शुक्रबार त्यहाँका प्रधानमन्त्रीसँग भेटवार्ता गरेकी हुन्। भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

सो अवसरमा श्रीलंकाका प्रधानमन्त्री गुणबर्द्धनेले नेपाल र श्रीलंकाबीच पुरानो मित्रता रहेको उल्लेख गर्दै आपसमा सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता जनाए। प्रधानमन्त्रीसँगको भेटअघि परराष्ट्रमन्त्री पौड्यालले श्रीलंकाका आफ्ना समकक्षी एमयूएम अली सब्रिसँग भेट गरेकी थिइन्।

शुक्रबार नै उनी श्रीलंकाको स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा आयोजना गरिएको विशेष सांस्कृतिक कार्यक्रममा सहभागी भइन्।

परराष्ट्रमन्त्री पौड्याल शनिबार बिहान सूर्योदयसँगै श्रीलंकाको स्वतन्त्रता दिवसको अवसरमा आयोजित झण्डोत्तलोन र परेड कार्यक्रममा सहभागी भइन्। उनले शनिबार दिउँसो श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिङ्घेसँग शिष्टाचार भेट गर्ने कार्यतालिका छ।

प्रतिक्रिया दिनुहोस
Advertisement