पशुपतिनगरमा एसएसबीको दादागिरी, उद्यान निर्माण रोक्यो


गंगा पराजुली/पशुपतिनगर – सीमा पिल्लरभन्दा ३०० मिटर टाढा शुरु भएको पर्यटकीय पार्क निर्माणमा भारतले अवरोध गरको छ । माईजोगमाई–२ स्थित पर्यटकीयस्थल तुम्लिङमा शुरु गरेको पर्यटकीय उद्यान निर्माणमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको हो ।

दशगजा छोडेर सीमा क्षेत्रमा पूर्वाधार निर्माण गर्न पाइने भए पनि सीमाबाट ३०० मिटर छोडेर काम गर्दा पनि सो उद्यान निर्माणमा एसएसबीले अवरोध गरेको सो गाउँपालिका अध्यक्ष जितबहादुर राईले जानकारी दिए ।

प्रदेश सरकारको लगानीमा निर्माण शुरु भएको पर्यटकीय उद्यान निर्माणमा एसएसबीले अवरोध गरेको प्रदेशसभा सदस्य खिनुलङ्वा लिम्बूले बताए । सीमा पिल्लरबाट ३०० मिटर टाढा निर्माण हुँदै आएको सो उद्यान अवरोध भएपछि बजेट फ्रिज हुने चिन्ता भएको छ । सन्दकपुर–मानेभञ्ज्याङ पर्यटकीय क्षेत्रमा पर्ने तुम्लिङ क्षेत्रमा सो उद्यान निर्माणको काम गत वैशाखको पहिलो साताबाट शुरु भएको थियो ।

प्रदेश सरकारको शहरी तथा भवन डिभिजन कार्यालयमार्फत कार्यान्वयनमा ल्याएको सो उद्यानकोे निर्माण शुरु भएको दुई दिनमै एसएसबीले दशगजा भन्दै मजदुरलाई काम गर्न अवरोध गरेको थियो । मजदुरले काम गरेको दुई दिनमै अवरोधबारे जिल्लास्थित सुरक्षा निकायमा जानकारी गराए पनि समाधानका लागि पहल भएको स्थानीय जनप्रतिनिधिको भनाइ छ ।

उपभोक्ता समितिमार्फत निर्माण शुरु भएको पर्यटन पार्कमा रु १० लाख प्रदेश सरकारबाट बजेट विनियोजन भएको छ । सीमा पिल्लरबाट ३०० मिटर तल संरचना निर्माणको शुरुआत गरिएको थियो । एसएसबीले सीमा क्षेत्रमा काम गर्दा नेपाल सरकारबाट आफूलाई पहिल्लै जानकारी हुनुपर्ने बताउँदै आएका छन् । भारतले भने सीमा क्षेत्रको दशगजा मिचेर सुरक्षा पोष्ट स्थापना गरेको छ । एसएसबीकै अवरोधले माईजोगमाई गाउँपालिकाको फाटकमा निर्माण गर्ने भनिएको पर्यटन उद्यान अलपत्र परेको छ ।

टङ्लु उद्यान निर्माण शुरु भएपछि भारतीय अवरोध आएको छ, प्रदेश सभासदस्य खिनुलङ्वा लिम्बूले भने, ‘फाटकमा बनाइने भनेको पार्क शुरु नै भएको छैन । नेपाली भूमिमा काम गर्दा पनि भारतीय अवरोध भइरहँदा प्रदेश सरकारबाट आएको बजेट खर्च नभई फर्कने समस्या रहेको छ ।’

पर्यटन पूर्वाधार निर्माणको अवरोधबारे जौबारीमा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले निरीक्षण गरी समस्याका बारेमा जिल्लाका सम्बन्धीत कार्यालयलार्य जानकारी दिएका थिए । यसपछि कुनै पहल नभएको स्थानीय जनप्रतिनिधिको भनाइ छ । पर्यटन उद्यान निर्माणमा अवरोधबारे मौखिक जानकारी आएको सीमा प्रशासन कार्यालय पशुपतिनगर इलामका प्रमुख दयाकृष्ण ढकालले जानकारी दिए । ‘एसएसबीको अवरोधबारे लिखितरुपमा जानकारी आएको छैन’, उनले भने, ‘हामी सीमा सुरक्षा हेर्ने सशस्त्र प्रहरीको पशुपतिनगरको टोलीबाट चाँडै स्थलगत निरीक्षण गर्ने योजनामा छौँ ।’

अवरोधबारे स्थानीय जनप्रनिधिले सशस्त्र प्रहरी बल गण हेडक्वाटर इलाममा जानकारी गराएका छन् । गणका प्रमुख प्रहरी उपरीक्षक रोशन श्रेष्ठका अनुसार उद्यान निर्माणको अवरोधबारे जानकारी भए पनि लकडाउनले गर्दा भारतपट्टि समन्वयमा समस्या भएको छ । उनले भने, ‘भारतपट्टि रहेको सीमा सुरक्षा बलको टोलीसँग कुराकानी भइरहेकाले चाँडै समाधान हुनेछ ।’

माईजोगमाई गाउँपालिका अध्यक्ष राईले सीमा पिल्लरभन्दा ३०० मिटर तल निर्माणको काम गरेकाले रोकिएको काम पुनः सञ्चालनबारे पहल भइरहेको जानकारी दिए । सीमा पिल्लरले प्रष्टसँग नेपाल–भारत सीमा छुट्याएकाले बजेट फ्रिज हुन नदिन स्थानीय प्रशासनलाई जानकारी दिएर काम गर्ने योजनामा रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement