एसएसपी बढुवाको विषयलाई लिएर वरिष्ठ प्रहरी अधिकृतहरु असन्तुष्ट


काठमाण्डौं – नेपाल प्रहरीमा बढुवाको विषयलाई लिएर वरिष्ठ प्रहरी अधिकृतहरुले असन्तष्टि जनाएका छन् । एसएसपी विश्वराज पोखरेल डीआइजीमा बढुवा भएपछि अन्य वरिष्ठ प्रहरी अधिकृतहरुले असन्तुष्टि देखाएका हुन् ।

अन्य असन्तुष्ट एसएसपीहरुले राजनीतिका पहुँचका आधारमा कनिष्टलाई डीआइजीमा बढुवा गरेको भन्दै असन्तुष्टी जनाएका छन् । ०४६ माघ २९ गते प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको टोलीले नेपाल प्रहरीमा इन्स्पेक्टर पदबाट भर्ना भएर सेवा प्रारम्भ गरेको थियो ।

खनालभन्दा पछि ०४९ बैशाख १९ गते भर्ना भएका केही अधिकृतहरु डीआईजी पदमा कार्यरत छन् भने केहीचाहिँ अझैसम्म एसएसपी नै छन् । तर, ती सिनियर एसएसपीहरुभन्दा ११ महिनापछि भर्ना भएका पोखरेललाई डीआईजी बनाइएको भन्दै एसएसपीले असन्तुष्ट जनाएका हुन् ।

२०४९ वैशाख १९ मा भर्ना भएको टोलीबाट अहिले शैलेस थापा क्षेत्री, निरजबहादुर शाही, हरिबहादुर पाल र प्रद्युम्नकुमार कार्कीसहितका अधिकृतहरु डीआईजी पदमा कार्यरत छन् ।

डीआईजी सिफारिस भएका पोखरेल ०४९ चैत ११ मा इन्स्पेक्टर पदमा नियुक्त भएका हुन् । उनीसँगै उत्तमराज सुवेदी, अरुणकुमार बीसी, धीरजप्रताप सिंह, रवीन्द्रबहादुर धानुक, दिवेश लोहनीलगायतका प्रहरी अधिकारीहरु पोखरेल भर्ना भएकै मितिमा इन्स्पेक्टर पदमा भर्ना भएका हुन् ।

तर, ११ महिनाअघि भर्ना भएकाहरुलाई एसएसपीमै खुम्च्याएर कनिष्ट मध्येबाट पोखरेललाई डीआइजीमा बढुवा गरिएको गुनासो एसएसपीहरु माझ चल्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement