काठमाण्डु प्रहरी प्रमुखको सरुवामा प्रधानमन्त्री र गृहमन्त्रीबीच मन मुटाव


काठमाण्डु – काठमाण्डु प्रहरी प्रमुख एसएसपी अशोक सिंहको सरुवालाई लिएर प्रधानमन्त्री र गृहमन्त्रीबीच बिवाद भएको छ । गृहमन्त्री बालकृष्ण खांडले सिंहको काज सरुवा गरेपनि प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा उनको सरुवा रोकिएको हो ।

गृहमन्त्रालयले सिंहको सरुवा भैरहवा विमानस्थल गरेर उनको ठाउंमा केन्द्रीय अनुसन्धान व्युरोमा रहेका एसएसपी सुदीप गिरीलाई ल्याउने निर्णय गरेको थियो । तर, सिंहले अन्तिममा सुदुरपश्चिममा कांग्रेसका नेताहरुमार्फत दबाव दिएर सरुवा रोक्न सफल भएका हुन । गृहमन्त्री खांड प्रधानमन्त्रीको अगाडी उनको सरुवा रोकेर निरिह बनेका छन् ।

गृहमन्त्रालयका एक अधिकारीले उनको सरुवा भएको दावी गरेपनि अन्तिममा आएर रोकिएको दावी गरेका छन् । उनी चार महिना अघि काठमाण्डुको प्रहरी प्रमुखको जिम्मेवारीमा आएका थिए । एसएसपी सिंहलाई काठमाण्डु ल्याउन तत्कालिन अख्तियार प्रमुख नविन घिमिरेको भुमिका थियो ।

काठमाण्डु प्रहरी प्रमुखको रुपमा उनको भुमिकालाई लिएर प्रश्नहरु उठिरहेका थिए । सिंहबाट कार्यसम्पादन राम्रो हुन नसकेको भन्दै उनको सरुवा गर्न गृहमन्त्रालयलाई दबाव थियो । पछिल्लो समय प्रहरी प्रशासनको सरुवा बढुवामा गृहमन्त्रालय भन्दा बालुवाटार हावी बन्दै आएको छ ।

प्रधानमन्त्री देउवा पत्नी आरजु राणाका पिए प्रकाश देउवाले प्रहरीको सरुवा बढुवामा अनावश्यक हस्तक्षेप गरेको भन्दै उनको आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement