नेपाल प्रहरीमा यसरी हुदैछ एसएसपीहरुको पदस्थापन


काठमाडौं– लामो समयदेखि रिक्त पदमा पदपूर्ति गरेसंगै गृह मन्त्रालयले अवधि पुगेका तथा खाली भएका ठाउंमा एसएसपी सरुवाको तयारी गरेको छ । गृहमन्त्री जनार्दन शर्मा र आइजीपी प्रकाश अर्याल बिच सबैको चासो रहने र अत्यन्तै चुनौतीपूर्ण पोस्टिङ मानिने काठमाडौ प्रहरीको प्रमुखमा एसएसपी रवीन्द्र धानुकको पदस्थापन गर्ने सहमती भएको उच्चस्रोतको दावी छ । धानुक गत महिना एसएसपीमा बढुवा भएका अधिकृत हुन्।  
कमाण्ड कन्ट्रोल र अपरेशनमा अब्बल अधिकृतको रुपमा चिनिने उनी यस अगाडी रुपन्देहीको प्रहरी प्रमुख थिए ।

डीएसपी हुदा दार्चुला, रुकुम र काभ्रे र एसपी हुंदा सर्लाही र रुपन्देहीको कमान्ड सम्हालिसकेका धानुकले स्थानीय तह निर्वाचनमा रुपन्देहीमा उत्कृष्ट काम गरेर चर्चा बटुलिसकेका छन् । उनले २०७० मा सर्लाहीमा दोश्रो संविधानसभाको चुनाव गराउन सुरक्षा निकायको तर्फबाट उत्कृष्ट भूमिका प्रदर्शन गरिसकेका छन् । उनले गृहमन्त्रीको जिल्ला रुकुमको प्रहरी प्रमुखको रुपमा जिम्मेवारी समेत सम्हालेका छन् ।

 

गृहमन्त्री शर्माले अर्क चुनौतीपूर्ण पोस्टिङ मानिने महानगरीय अपराध महाशाखाको प्रमुखमा धिरजप्रताप सिंहलाई ल्याउने चाहना देखाएको गृहस्रोतको दाबी छ । भविष्यमा प्रहरी नेतृत्व सम्हाल्ने व्याचको दोश्रो वरीयतामा रहेका सिंह यस अगाडि पर्सा र दाङको प्रहरी प्रमुखको रुपमा सफलता हासिल गरेका अधिकृत हुन् ।

 

डीएसपी हुंदा गोरखा र दोलखा प्रहरी को कमाण्ड सम्हालिसकेका सिंह काठमाडौं प्रहरी परिसरमा अपरेशन इन्चार्ज भएर लामो समय काम गरिसकेका छन् । सिंहले पछिल्लो समय सम्पन्न स्थानीय तहको निर्वाचन सम्पन्न गर्न दाङमा सफल भूमिका खेलिसकेका उनी कमाण्ड कन्ट्रोल र अपरेशनमा पोख्त मानिन्छन।    

स्रोतका अनुसार गृह मन्त्रालयले ललितपुरको प्रहरी प्रमुखमा एसएसपी बढुवा सिफारिसका हरी बहादुर पाल र निरज बहादुर शाही मध्ये एकलाई पठाउने तयारी गरेको बुझिएको छ । त्यस्तै अंचल प्रहरी कार्यालय नारायणीमा प्रध्युम्न कार्की र दिवेश लोहनीको नाम चर्चामा छ भने उत्तमराज सुवेदीलाई पुर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगर पठाउने गृहको तयारी छ ।

एसएसपी शैलेश थापालाई आइजीपीको सचिवालय र प्रकाशजंग कार्कीलाई लागूऔषध नियन्त्रण ब्यूरो अथवा अञ्चल प्रहरी कार्यालय लुम्बिनीमा पदस्थापन गर्ने गृहको तयारी रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement