प्रदेश ७ : प्रदेशसभाको पहिलो बैठकमा कसले के भने?


धनगढी– प्रदेश नम्बर ७ मा प्रदेशसभाको पहिलो पहिलो बैठक आइतबार सम्पन्न भएको छ। बैठक प्रदेशसभाका जेष्ठ सदस्य ७४ वर्षीया दिव्यश्वरी शाहले सञ्चालन गरेकी थिइन ।

शाहले प्रदेश प्रमुख मोहनराज मल्लबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाइन्। त्यसपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने ४ दलका एक–एक जना सांसदले सम्बोधन गरेका थिए।

पहिलो बैठकमा एमाले बाजुराका सांसद प्रकाश शाह, नेपाली कांग्रेस डोटीका सांसद भरत खड्का, माओवादी केन्द्र डोटीका सांसद त्रीलोचन भट्ट र राष्ट्रिय जनता पार्टीकी सांसद मालामती रानाले पहिलो सम्बोधन गरे।

बैठकमा प्रस्ताव गरेको प्रदेश ७ को प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि पनि पारित गरिएको छ। सभामुखको निर्वाचनका लागि माघ २९ गतेको मिति तोकिएको छ। त्यसका लागि आन्तरिक तयारी गर्न र सूूचना प्रकाशन गर्न प्रदेश प्रमुखको कार्यालय सचिव मुरारी महतलाई निर्देशन पनि दिइएको छ।

बैठकले सभामुख र उपसभामुख नहुदा संसद सञ्चालनका लागि ५ सदस्यीय समिति गठन गरेको छ। समितिमा माया भट्ट, देवराज पाठक, पुर्णा जोशी, वीरमान चौधरी र कृष्ण चौधरी रहेका छन्। ९ जिल्ला रहेको यस प्रदेशमा प्रत्यक्ष र समानुपातिक पद्धतितर्फबाट गरी ५३ सांसद रहेका छन्।

कसले के भने ?

पहिलो बैठकमा प्रदेश संसदमा प्रतिनिधित्व गर्ने ४ वटा दलका एक–एक जना सांसदले सम्बोधन गरे। एमाले सांसद प्रकाश शाहले जनताको चाहाना अनुसार सबै मिलेर प्रदेश न ७ लाई समृद्ध बनाउन पहल गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘जनताको अपेक्षा अनुसार हामी काम गर्ने छौ र यो प्रदेशलाई सम्र्ध बनाउने छौं।’

कांग्रेस सांसद भरत खड्काले प्रदेशको समृद्धिका लागि सत्ता पक्ष प्रतिपक्ष नभनिकन अगाडि बढ्ने प्रतिबद्धता जनाए। माओवादी केन्द्रका सांसद त्रीलोचन भट्टले पनि आफ्नो भाषणको अधिकांश समय सात न प्रदेशकै विकास र समृद्धिका लागि सबै एक जुटहुनुपर्नेमा जोड दिए।

राजपा नेपालकी सांसद मालमति रानाले संविधानप्रति थारु समुदायको असन्तुष्टि रहेकाले संशोधन गर्नुपर्ने बताइन्।

प्रतिक्रिया दिनुहोस
Advertisement