ओलीको राजकीय भारत भ्रमण : राजनीतिक मुद्दामा छलफल नगर्ने तयारी


प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणमा नेपालको राजनीतिक विषयमा कुराकानी नहुने भएको छ । निर्वाचनमार्फत राजनीतिक संक्रमण सम्पन्न भइसकेको अवस्थामा अब ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आर्थिक विकासका मुद्दामा छलफल गर्ने गरी कूटनीतिक तयारी थालिएको छ । दुवै देशका परराष्ट्र मन्त्रालयले आपसी छलफलका बुँदामा आन्तरिक परिस्थितिबारे छलफल नगर्ने तयारी गरिरहेका छन् ।

‘भारतीय प्रधानमन्त्री मोदीले वाणिज्यमन्त्री मात्रिका यादब र भारतीय वाणिज्यमन्त्री सुरेश प्रभुसँग गत साताको संक्षिप्त कुराकानीमा राजनीतिक बिषय होइन, आर्थिक विकासका बिषयमा कुराकानी गर्ने इच्छा देखाउनुभएको छ । यो राम्रो संकेत हो,’ भेटबारे जानकार नेपाली अधिकारीले नयाँ पत्रिकासँग भने, ‘आन्तरिक राजनीतिक बिषयमा कुराकानी गर्ने इच्छा हाम्रो प्रधानमन्त्रीको पनि छैन भन्ने हाम्रो बुझाई छ ।’

यसअघि नेपालको संविधानलाई भारतीय प्रधानमन्त्रीले स्वागत गर्न अस्वीकार गर्दा र संविधान संशोधनका बिषयमा प्रधानमन्त्री ओलीले उल्लेख गर्न अस्वीकार गर्दा ओलीको पहिलो भारत भ्रमणमा संयुक्त बक्तव्य जारी भएको थिएन । विश्व व्यापार संगठनको मिनि मिनिस्टेरियल वैठकमा सहभागी हुन दिल्ली आएका बेला भारतीय मन्त्री सुरेश प्रभुको सहयोगमा वाणिज्यमन्त्री यादब र मोदीबीच संक्षिप्त कुराकानी भएको थियो । त्यसक्रममा मोदीले आर्थिक विकासमा सहकार्य गर्नुपर्ने धारणा राखेका थिए ।

ओलीको भारत भ्रमणमा त्यसबारे विस्तारमा छलफल हुने पनि मोदीले संकेत दिएका थिए । यसलाई नेपालले अवसरका रुपमा लिएर राजनीतिक बिषयमा छलफल नगर्ने र संयुक्त बक्तव्यमा पनि राजनीतिक बिषय समावेश नगर्ने वातावरण बनाउनुपर्ने जानकारहरुको सुझाब छ । नेपाली दुताबासका प्रवक्ता एवं राजनीतिक काउन्सिलर हरिप्रसाद ओडारीले भ्रमणको एजेन्डा र मिति चाँडै घोषणा हुने बताए । ‘हामी बिषयगत र लजिस्टिक तयारी गरिरहेका छौँ । मिति र एजेन्डा चाँडै घोषणा हुँदैछ,’ उनले नयाँ पत्रिकासँग भने । मिति औपचारिक घोषणा नभए पनि ओली २३ देखि २५ चैतसम्म भारतको तीनदिने राजकीय भ्रमणमा आउने गरी दुताबासले तयारी गरेको छ ।

फ्ल्यासब्याक

पहिलो भ्रमणमा ओली र मोदीबीच चर्काचर्की
८ फागुन २०७२ मा हैदरावाद हाउसमा प्रधानमन्त्री ओली र मोदीबीच औपचारिक दुईपक्षीय वैठकमा भनाभन भयो । बिषय थियो स् नेपालको संविधान । उक्त वैठकमा सहभागी कूटनीतिज्ञका अनुसार प्रधानमन्त्री ओलीले भनेका थिए, ‘नेपालको संविधान समावेशी छ, लोकतान्त्रिक छ । कार्यान्वयनका क्रममा कमीकमजोरी देखिएछन् भने सच्याउँदै जाउँला ।’

तर, मोदीले विदेश मन्त्रालयका अधिकारीले दिएको नोट हेरेर भनेका थिए, ‘प्रधानमन्त्री ओली, क्रिकेट मैदानभित्रबाट सबै कुरा सामान्य देखिन्छ, तर टेलिभिजनमा लाइभ हेर्नेहरुलाई कहाँ–कहाँ कमजोरी छ भन्ने थाहा हुन्छ । त्यस हिसाबले तपाईँको व्याख्या गलत छ । बेलैमा समस्याको समाधान गर्नुहोस् । यदि संविधान संशोधन भएन भने स्थायित्व प्राप्त हुने चाहना पूरा नहुनसक्छ ।’

ओली गुजरातको भुजमा जाँदा यादब समुदाय बाहुल्य गाउँमा पुगे । त्यहाँ उनले भाषण गरे, ‘यहाँका ६० प्रतिशत यादब हुनुहुन्छ भन्ने मैले सुनेको छु । हाम्रो टिममा पनि सांसद लालबाबु यादब हुनुहुन्छ । उहाँले संविधान बनाउनुभयो, संविधान जारी गर्ने राष्ट्रपति रामवरण यादब नै हुनुहुनछ ।’ ओलीले त्यसोभन्दा लालबाबु यादबले उठेर हात हल्लाए । भुजको यादब समुदायले ताली बजायो । जानकारका अनुसार संविधानका बारेमा मोदीलाई लक्षित गरेर ओली बोलेका थिए । परराष्ट मन्त्रालयका एक अधिकारीले भने, ‘अहिले परिस्थिति बदलिएको छ । तर, प्रधानमन्त्री ओली आधारभुत अडानबाट बाहिर गएका छैनन् । ओली होइन, परिस्थिति बदलिएको छ । बरु, प्रधानमन्त्री मोदीको अडानमा नरमपन छ ।’

प्रचण्ड र देउवा आउँदा के भयो ?
ओलीपछि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा संविधानबारे भारत नरम थियो । मोदीले अप्रत्यक्षरुपमा संविधानको स्वागत गरेका थिए । ३० असोज ०७३ मा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘संविधानको प्रभावकारी कार्यान्वयनका लागि नेपाली समाजका सबै पक्षलाई समेटेर अघि बढ्ने प्रयासबारे प्रधानमन्त्रीले जानकारी दिनुभयो । नेपालका प्रजातन्त्रको संवैधानिक मजबुतीकरणको महत्वको प्रशंसा गर्दै भारतका प्रधानमन्त्रीले संविधानको प्रभावकारी कार्यान्वयनका निम्ति समाजका सबै पक्षहरुलाई साथमा लिने नेपाल सरकारको जारी प्रयासलाई स्वागत गर्नुभयो । प्रधानमन्त्रीले नेपालका समकक्षीलाई उहाँको सबै प्रयासका निम्ति शुभकामना दिनुभयो । नेपालको शान्ति प्रक्रियामा ऐक्यवद्धता, समर्थन र सद्भावका लागि नेपालका प्रधानमन्त्रीले भारत सरकार र जनतालाई धन्यवाद दिनुभयो ।’

प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा ८ भदौ ०७४ मा जारी संयुक्त बक्तव्यमा भारत झन् नरम भएको छ । बक्तव्यमा उल्लेख छ, ‘दुई प्रधानमन्त्रीहरुले शान्त, विकास र समुन्नतिका लागि लोकतान्त्रिक संस्थाहरुको अपरिहार्यतामा जोड दिनुभयो, नेपालका प्रधानमन्त्रीले नेपालको हालैको राजनीतिक घटनाक्रमबारे जानकारी गराउनुभयो । भारतका प्रधानमन्त्रीले दुई स्थानीय निर्वाचन सम्पन्न भएकोमा स्वागत गर्नुभयो । र प्रधानमन्त्री देउवालाई बधाई दिनुभयो । समाजका सबै पक्षलाई साथमा लिएर संविधान कार्यान्वयन तथा संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्ने नेपाल सरकारको प्रयासको उहाँले प्रशंसा गर्नुभयो । नेपालका प्रधानमन्त्रीले स्थानय तहका चुनाव सम्पन्न गर्न भारतले गरकेो सहयोगको लागि धन्यवाद दिनुभयो ।’

ओली राष्ट्रपतिका विशिष्ट पाहुना
जर्मनीका राष्टपति डा. फ्रैंक वाल्टर स्टेनमियरको सम्मानमा शनिबार भारतीय राष्ट्रपति भवनमा वैंकट डिनर थियो । राष्टपति रामनाथ कोविन्दले दिएको डिनरमा सहभागी पत्रकारले ठट्टामा भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई सोधे, अब यहाँ को पाहुना आउँदै हुनहुन्छ ? स्वराजको जबाफ थियो, ‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओली ।’ अर्थात् ओलीलाई २४ चैत (७ अप्रिल)मा राष्टपति भवनमा साँझ स्टेट डिनरको तयारी हुँदैछ । राजकीय भ्रमणमा दोस्रोपटक आउन लागेका ओलीलाई २४ चैतमा हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीले दिवाभोज र साँझ राष्टपतिले रात्रीभोज दिने तयारी भएको छ ।

३ असोज ०७२ मा नयाँ संविधान जारीपछि प्रधानमन्त्री भएका ओलीले ७ देखि ११ फागुनसम्म भारतको राजकीय भ्रमणमा गएका थिए । त्यतिबेला पनि उनी राष्टपति प्रणब मुखर्जीको विशेष पाहुनाका रुपमा राष्टपति भवनमा बसेका थिए । अहिले पनि उनी राष्ट्रपतिका पाहुनाका रुपमा राष्ट्रपति भवनमै बस्दैछन् । उनीपछिका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले पनि राजकीय भ्रमण गरेका थिए । देउवाभन्दा अघि राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको राजकीय भ्रमण गरेकी थिइन् । उनीहरु सबै राष्टपतिभवनमै बसेका थिए ।

मिति र एजेन्डा घोषणा हुँदैछ स् दुताबास

के भन्छन् जानकार ?

सम्बन्धमा ‘ब्रान्ड न्यू च्याप्टर’
अशोक मेहता, नेपाल भारत मामिला जानकार
केपी शर्मा ओली राजनीतिक रुपमा शक्तिशाली छन् । तीन चौथाई बहुमत छ । स्थानीय र प्रान्तमा पनि पकड छ । माथिल्लो सभामा बहुमत छ । उनी नेशनालिष्ट छन् । नपालको इतिहासकै शक्तिशाली, जोसँग अनन्त राजनीतिक शक्ति छ । र भारत आउँदैछन् । भारतले कूटनीतिक पहलकदमी लिएका कारण उनी आउँदै छन्, मोदी र स्वराजको विशेष निमन्त्रणामा । यस्तो निमन्त्रणा यसअघिका प्रमले पाएका थिएनन् । प्रधानमन्त्री नहुँदै ओलीलाई बोलाउन विदेशमन्त्री गएको पहिलो घटना हो ।

मेरो बिचारमा यो दुई देश र नेतृत्वबीच सद्भावना बढाउने राजकीय भ्रमण हो । यो नेपाल भारत सम्बन्धको ‘ब्रान्ड न्यू च्याप्टर’ हो, जहाँ भारतले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता सुनिश्चित गर्ने र हस्तक्षेप नगर्ने अर्को अबसर प्राप्त गरेको छ । यो नयाँ सम्बन्ध होइन, सम्बन्धको नयाँ आयाम मात्रै हो । भारतले चीनको विकल्पमा नेपाललाई बढीभन्दा बढी विकल्प दिनुपर्छ । यो भ्रमणसँगै भारतले मधेशीलाई मात्रै हेर्छ भन्ने धारणा बदल्नुपर्छ ।

सम्बन्ध थप मजबुत बनाउने अबसर
संगीता थपलियाल, प्राध्यापक, जवाहरलाल युनिभर्सिटी
नेपाल भारत सम्बन्धमा विगतमा जे भए, त्यसलाई इतिहास बनाएर सम्बन्ध थप सुदृढ गर्नुपर्ने अवस्थामा प्रधानमन्त्री ओलीको भ्रमण हुँदैछ । यो भ्रमणलाई दुई देशबीच भएका पुराना सम्झौता कार्यान्वयनका सन्दर्भमा सदुपयोग गर्नुपर्छ । सबैभन्दा नजिकको छिमेकी भएका नाताले भारतले नेपालको विकासमा थप सहयोग गर्ने अबसर खुला गर्नुपर्छ । भारतले नेपाललाई दिने सहयोग दोब्बर गरिसकेको पनि छ । ओलीको भ्रमणलाई सम्बन्ध मजबुत गर्ने अबसरका रुपमा सबैले सदुपयोग गर्नुपर्छ ।

यस्तो कार्यक्रम बन्दै छ
अहिलेसम्मको तयारीअनुसार प्रधानमन्त्री ओलीले चैत २३ देखि २५ सम्म भारतको राजकीय भ्रमण गर्दै छन् । ओलीको सम्मानमा नेपाली दूतावासले २३ चैतमा रात्रिभोज आयोजना गर्दै छ, दिल्लीमा त्यसको तयारी हुँदै छ । २४ चैतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीको सम्मानमा दिवाभोज आयोजना गर्ने कार्यक्रम छ ।

दिवाभोजअघि ओली र मोदीबीच एकान्त वार्ता हुनेछ भने त्यसपछि औपचारिक प्रतिनिधिमण्डलस्तरीय वार्ता हैदरावाद हाउसमा हुनेछ । लगत्तै संयुक्त पत्रकार सम्मेलन हुनेछ । सोही दिन ओलीले राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति बैंकया नायडुसँग भेटवार्ता गर्दै छन् । राष्ट्रपति कोविन्दले ओलीको सम्मानमा स्टेट डिनर दिने तयारी भएको छ । ओलीले इन्डिया फाउन्डेसन तथा भारतीय उद्योग वाणिज्य महासंघद्वारा आयोजित बेग्लाबेग्लै कार्यक्रमलाई सम्बोधन गर्ने तयारी भइरहेको छ । याे खबर अाजकाे नयाँपत्रिका दैनिकमा पर्शुराम काफ्लेले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement