एआईजीका छोराको ठमेलमा दादागिरी, एसएसपीको नेतृत्वमा छानबिन समिति गठन


काठमाडौँ – ‘गुड फ्राइडे’ मनाउन ठमेल पुगेका युवकले मादक पदार्थ सेवन गरेर प्रहरीमाथि हातपात गरेपछि घटनाले नयाँ माेड लिएको छ । ठमेलमा एक युवक प्रहरीमाथि नै जाइलागेपछि घटनाले नयाँ मोड लिएको छ ।

ठमेलमा दरबारमार्गका प्रहरी निरीक्षक नेतृत्वको सादा पोशाकको टोली शुक्रबार राति नियमित ड्युटीका क्रममा ठमेल पुग्यो । प्रहरीले एउटा ट्याक्सी पनि लगेको थियो । राति २५ वर्षीय सुगम बमसहित ६–७ जनाको समूह आयो र ट्याक्सी चालकसँग विवाद गर्न थाले । लामै विवाद भएपछि एक जना प्रहरीले उक्त ट्याक्सी आफूहरुका लागि राखिएको बताए ।

तर, प्रहरीले त्यति भन्नासाथ सुगम झन् चर्किए । उनले प्रदेश न ४ का एआईजी कमलसिंह बम (बुबा) को धाक लगाउँदै ‘तिमीहरु जस्ता ४–५ जना मेरो घरमा खाना पकाउने मान्छे छन्’ भन्न थाले । त्यसपछि विवाद झन् लम्बियो । प्रहरीले उनलाई चौकीमा हिँड्न भन्यो तर, मानेनन् । त्यस क्रममा प्रहरीले उनलाई गाडीमा चढाउन बल नै प्रयोग गर्नु पर्यो । सुगम प्रहरीमाथि नै जाइलागे । प्रहरीले उनलाई दरबारमार्ग वृत्तमा पुर्योएर रातभर राख्यो ।

बिहानै आमा प्रहरी कार्यालयमा पुगिन् र, चाहिएको बेला उपस्थित गराउने गरी प्रहरीले छोडिदियो । प्रहरी हिरासतबाट छुटेलगत्तै उनले आफू प्रहरीबाट कुटिएको भन्दै खबर गर्नुका साथै उजुरी छानबिन शाखामा उजुरी नै दिएका छन् ।

घटनाको छानबिनका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले समिति बनाएको छ । एसएसपी रामकृपाल शाहको संयोजकत्वमा समिति गठन गरिएको हो।

प्रतिक्रिया दिनुहोस
Advertisement