मेयरविरुद्ध उपमेयरले सुरु गरिन् आमरण अनशनमा


काठमाडौं-  आफ्नै मेयरविरुद्ध आमरण अनशनमा बसेकी हंसपुर नगरपालिकाकी उपमेयर रेणु झाको स्वास्थ्य अवस्था बिग्रेपछि अस्पताल भर्ना गरिएको छ। दुई दिनदेखि अनशन बसेकी उपमेयर झालाई सोमबार जनकपुर अञ्चल अस्पताल भर्ना गरिएको हो।

हंसपुर नगरपालिकाको केन्द्र सार्ने विषयमा मेयर रामज्ञान मण्डल र उपमेयर झाबीच विवाद भएपछि कार्यालयमा तालाबन्दी भएको छ।बघचौडामा रहेको नगरपालिका कार्यालय मेयर मण्डलले अन्यत्र सार्न लागेको भन्दै उपमेयर झाले विरोध जनाएकी खबर आजको नयाँ पत्रिका दैनिकमा जकनपुरबाट हदिश खुद्दारले लेखेका छन्।

नगरपालिका मेयर र उपमेयर दुवै राजपा नेपालका हुन्। मण्डलले आफूलाई जानकारी नै नदिई विशेष नगरसभा बोलाउने तयारी गरेको उपमेयरको आरोप छ । बाघचोडमा रहेको नगरपालिकाको कार्यालयलाई अन्य स्थानमा सार्न खोजेको भन्दै झाले अनशन थालेकी हुन् ।

उपमेयर झाले केही दिनअघि मेयरबाट आफूमाथि असुरक्षा रहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन नै दर्ता गराएकी छिन्। ‘दुई महिनाअघि सम्पन्न प्रथम नगरसभाको हरहिसाबसमेत मलाई स्पष्ट रूपमा जानकारी गराइएको छैन,’ उनले भनिन् ।

मेयर मण्डलले स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा निर्वाचनको ६ महिनाभित्र दुईतिहाइ बहुमतले केन्द्र परिवर्तन गर्न सकिने प्रावधान रहेको बताए । ‘नगरवासीलाई पायक पर्ने स्थानमा कार्यालय सार्न सदस्यहरूको दबाब छ । दुईतिहाइभन्दा बढी बहुमतले कार्यालय सार्न दबाब दिएकाले कानुनअनुसार प्रक्रिया अगाडि बढाउनु मेरो कर्तव्य हो,’ उनले भने । नगरपालिकामा तालाबन्दी भएपछि जन्मदर्ता, विवाहदर्ता तथा विकास निर्माणका कार्य प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement