विद्यार्थीको शैक्षिक सत्र खेर नजाने

विद्यार्थीको शैक्षिक सत्र खेर नजाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ –  विद्यालय तहमा अध्ययनरत लाखौँ विद्यार्थीले आगामी असार १ देखि वैकल्पिक विधिबाट पढाइ सुरु गर्ने भएपछि विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने भएको छ । विद्यार्थीले अब २०७७ चैतभित्र यो शैक्षिक सत्रको पढाइ पूरा गर्न सक्ने अवस्था सिर्जना भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले असार १ देखि सबै विद्यालयले वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्ने र चैतभित्र पठनपाठन पूरा गर्ने गरी अगाडि बढ्ने योजना रहेको जानकारी दिनुभयो ।

कोरोना भाइरस (कोभिड–१९)को बन्दाबन्दीका कारण दुई महिनाभन्दा बढी समय विद्यार्थी घरमा बसे पनि उनीहरूको शैक्षिक सत्र खेर जान नदिन सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ । मन्त्रालयका अनुुसार असार १ देखि सुरु गरिने वैकल्पिक विधिको कक्षा सञ्चालन कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण जनजीवन सामान्य नहुँदासम्म सञ्चालन गरिनेछ ।

वैकल्पिक विधिबाट कक्षा सञ्चालन हुनुअघि विद्यालयले आफ्ना पुराना तथा नयाँ विद्यार्थीको खोजी गर्नुपर्ने जनाइएको छ । अनलाइन कक्षा सञ्चालन प्रभावकारी बनाउन विद्यार्थीको उपस्थिति हुनुपर्ने औँल्याइएको छ । विद्यालयले आफ्ना विद्यार्थीलाई पुस्तक तथा नतिजा उपलब्ध गराउनुपर्ने उहाँको भनाइ छ । अघिल्लो शैक्षिक सत्रजस्तो हिसाबले विद्यार्थी भर्ना गर्न व्यावहारिक समस्या भए पनि विद्यालयले आफ्ना विद्यार्थीको अभिलेखीकरण गरेर पठनपाठन अघि बढाउन सक्ने प्रवक्ता शर्माले बताउनुभयो । निजी विद्यालयका सञ्चालकहरूले पनि आफ्ना विद्यार्थी खोजी गर्दै उनीहरूलाई वैकल्पिक विधिबाट पढाउने तयारी गरिने जनाएका छन् ।

यसैबीच असार १ देखि वैकल्पिक विधिबाट पढाउने गरी सरकारले बाटो खुला गरेकोमा निजी तथा आवासीय विद्यालय सम्बद्ध संस्थाहरूले स्वागत गरेका छन् । जारी बन्दाबन्दीका कारण घरमै रहेका बालबालिकालाई वैकल्पिक विधिबाट सिकाउने निर्णय स्वागतयोग्य भएको जनाइएको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।