इन्सपेक्टर वाइवाको सक्रियतामा हराएको नगदसहितको झोला धनीलाई बुझाइयो


काठमाडौं – महानगरीय प्रहरी प्रभागकी प्रमुख, प्रहरी निरीक्षक सुभद्रा वाइवाको सक्रियतामा हराएका नगद र कागजपत्र सम्बन्धित धनीलाई बुझाइएको छ । गत फागुन १९ गते उदयपुरको गाइघाटबाट कोटेश्वर आउने क्रममा टाटा सुमोबाट हराएको नगद, लालपुर्जा लगायतका महत्वपूर्ण कागजपत्र भएको झोला शुक्रबार सम्बन्धित झोलाधनीले फिर्ता पाएका हुन् ।

खोटाङ्ग जन्तेढुंगा गाउपालिका वडा नं ६ घर भई हाल ललितपुर महानगरपालिका वडा नं १४ तिखिदेवल बस्ने ६९ वर्षीय हर्कराज राईको नगद ३० हजार, ३ थान लालपुर्जा, २ थान नागरिकता, एकथान पेन्सन पट्टा, एक थान अपाङ्ग परिचयपत्र, एक थान भुकम्प पीडित परिचयपत्र सहितको कालो रंगको पछाडि भिर्ने झोला फागुन १९ गते गाइघाटबाट कोटेश्वर आउने क्रममा चालकको लापरवाहीका कारण हराएको थियो । चालकले सवारी साधनको छतमा सुरक्षित रुपमा बाँधेर राख्नुपर्ने यात्रुको झोला हेलचक्र्याई गरी राखेको कारण यात्राको क्रममा उक्र झोला गाडीबाट बाटोमा खसेको थियो ।

हराएको झोला खोजी गर्नको लागि सोही दिन पीडित यात्रु राईले महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा निवेदन दिएकोमा प्रहरी निरीक्षक वाइवाले यात्रु राईले यात्रा गरेको ना १ ज ५४५१ नं को टाटा सुमोका चालक उदयपुर त्रियुगा नगरपालिका वडा नं ८ घर भएका चालक राजन दनुवार र सवारीधनी उदयपुर रौतामाईका आङ्ग पाल्दे शेर्पालाई तत्कालै झिकाएर १५ दिनभित्र हराएको सामान खोजी गर्न निर्देशन दिएको थियो ।

साथै कोटेश्वर प्रहरीले उदयपुर हुँदै कोटेश्वरसम्म आइपुग्दा बाटोमा पर्ने जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा समेत हराएको झोलाबारे जानकारी गराएको थियो ।

प्रहरीको सक्रियतापछि सवारी धनी तथा गाडी चालकले महत्वपूर्ण कागजात र नगदसहितको झोला हराएको संभावित ठाउँ वरिपरि खोज्ने क्रममा सिन्धुलीका एकजना पुर्व कर्मचारीले उक्त झोला भेटेर राखेको अवस्थामा फेला पारेको चालकले दनुवारले प्रहरीलाई बताए ।

१९ फागुनमा हराएको महत्वपूर्ण कागजात सहितको झोला प्रहरी निरीक्षक वाइवाले उनकी छोरी नानुकला राई र वरिष्ठ पत्रकार वलराम प्यासीको रोहवरमा हस्तान्तरण गरेकी हुन् । आश मारेको नगद र महत्वपूर्ण कागजात सहितको झोला ५ दिनभित्रै हात परेकोमा जेष्ठ नागरिक राईले प्रहरी निरीक्षक वाईवासहित कोटेश्वर प्रहरीलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement