सुडानमा जारी द्वन्द्व तत्काल अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घका प्रमुखको आग्रह


एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले सुडानमा जारी हिंसा तत्काल अन्त्य गर्न आह्वान गरेका छन्। महासचिव गुटेर्रेसले बुरुन्डीको आर्थिक केन्द्र बुजुम्बुरामा शुक्रबार बुरुन्डीका राष्ट्रपति इभारिस्टे नदायिशिमिएसँग भेटवार्ता गरेपछि सुडानमा जारी हिंसा तत्काल अन्त्य गर्न आह्वान गरेका हुन्।

प्रजातान्त्रिक गणतन्त्र कङ्गो र यस क्षेत्रमा शान्ति, सुरक्षा र सहयोगका लागि ‘अदिस अबाबा फ्रेमवर्क’ सम्झौतासम्बन्धी क्षेत्रीय पर्यवेक्षण संयन्त्रका राष्ट्रप्रमुखहरूको ११औँ शिखर सम्मेलनका क्रममा गुटेर्रेसले बुरुन्डीका राष्ट्रपतिलाई भेटेका हुन्।

गुटेर्रेसले भने, ‘हामी सुडानमा अहिले भइरहेको शत्रुता तत्काल अन्त्य गर्न आग्रह गर्दछौं।’ उनले सुडानी सङ्कट समाधानका लागि क्षेत्रीय व्यापार समूह ‘इन्टरगभर्नमेन्टल अथोरिटी अन डेभलपमेन्ट (आईजीएडी)’ले गरेको मध्यस्थता प्रयासको प्रशंसा गरे।

गुटेर्रेसले पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)को अवस्था पनि चिन्ताजनक रहेको भन्दै समाधानका लागि विश्व समुदाय आ–आफ्नो स्थानबाट लाग्नुपर्ने बताए। उनले पूर्वी डीआरसी र अन्य शान्ति मिसनमा शान्ति बहालीमा बुरुन्डीले गरेको योगदान र प्रशासनमा गरेको प्रयासको प्रशंसा गरे।

“मेलमिलाप, लोकतान्त्रिक शासन र आर्थिक विकासका सम्बन्धमा बुरुन्डीले हासिल गरेको उल्लेखनीय प्रगतिको प्रशंसा गर्ने अवसर मैले पाएको छु,” बुरुन्डीका राष्ट्रपति इभारिस्टे नदायिशिमियेसँगको भेटपछि गुटेरेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उनले बुरुन्डीलाई धेरै र पूर्ण रूपमा हकदार रहेको अन्तर्राष्ट्रिय समुदायको अझ बलियो समर्थन जुटाउन सक्दो प्रयास गर्न संयुक्त राष्ट्रसङ्घको ‘बलियो समर्थन र प्रतिबद्धता’ को आश्वासन बुरुन्डीको राष्ट्रपतिलाई दिएको बताए।

उनका अनुसार पूर्वी डीआरसीमा पूर्वी अफ्रिकी सेनाको तैनाथीको सन्दर्भमा डीआरसीमा बुरुन्डी सैनिकहरूको उपस्थितिले मेलमिलाप र शान्तिको लागि ‘व्यापक कार्यकुशलता र धेरै सकारात्मक योगदान’ देखाएको छ, र आज ‘बुरुन्डी क्षेत्रीय सहयोगको लागि एक स्तम्भ’ हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement