सुडानको दक्षिणी डार्फरमा १६ सर्वसाधारण मारिए


खार्तुम – सुडानको दक्षिणी डार्फरमा युद्धरत पक्षहरूबीच भएको झडपमा १६ जना सर्वसाधारणको मृत्यु भएको छ ।  सुडानको दक्षिणी डार्फर राज्यको राजधानी न्यालामा सुडानी सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)बीचको बमबारीमा कम्तीमा १६ जना सर्वसाधारणको मृत्यु भएको डार्फर बार एसोसिएसनले जनाएको हो ।

पेशागत वकिलहरूको सङ्गठनले सडक र नागरिकका घरमा  गोलीबारी भएको जनाउँदै शुक्रबारदेखिको दोहोरो भिडन्तले न्याला क्षतविक्षत भएको बताएको छ । गोलाबारी र भिडन्तका कारण न्यालाको दक्षिणमा रहेको अल–वोहदा र करारीलगायत क्षेत्र प्रभावित भएका छन् ।

सङ्घले युद्धरत पक्षहरुलाई तत्काल युद्ध बन्द गर्न र सर्वसाधारणलाई आक्रमणको निशाना नबनाउन आग्रह गरेको छ ।  गत अप्रिल १५ देखि खार्तुम र अन्य क्षेत्रमा सुडानी सेना र आरएसएफबीच जारी यु्द्धमा तीन हजारभन्दा बढीको मृत्यु भएको छभने छ हजारभन्दा बढी घाइते भएका छन् । संयुक्त राष्ट्रसङ्घको अनुमानअनुसार सुडान द्वन्द्व सुरु भएयता ३० लाखभन्दा बढी विस्थापित भएका छन् ।-सिन्ह्वा

प्रतिक्रिया दिनुहोस
Advertisement