काठमाण्डु– गोरखा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य तथा गृहमन्त्री सुधन गुरुङले आफूले चुनावका क्रममा गरेका सबै प्रतिबद्धता तत्काल पूरा गर्न नसकिने बताएका छन्।
शहीद लखन गाउँपालिका–९ का स्थानीयसँग आइतबार भएको भेटघाटमा चुनावका बेला गरिएको ल्याब निर्माणको प्रतिबद्धता पूरा नभएको विषय उठेपछि गुरुङले यस्तो जवाफ दिएका हुन्।
उनले विकास निर्माणका कामको परिणाम हेर्न मतदातालाई पाँच वर्षसम्म धैर्य गर्न आग्रह गरेका छन्।
स्थानीयको प्रश्नको जवाफ दिँदै गुरुङले विभिन्न स्थानीय तहबाट आएका योजना तथा बजेटका मागलाई प्राथमिकताका आधारमा अघि बढाउनुपर्ने बताए। सबै माग एकैपटक सम्बोधन गर्न नसकिने उनको भनाइ थियो।
तर स्थानीयले चुनावी प्रतिबद्धता सम्झाउँदै तत्काल काम अघि बढाउन दबाब दिएपछि गुरुङले चार महिनामै विकासको ‘कायापलट’ सम्भव नहुने बताए। ‘चार महिनामा बल्ल पहिलो बजेट आएको छ। चार महिनामै कायापलट गर्न म सक्दिनँ। चित्त बुझ्दैन भने भोट फिर्ता लिएर जानुस्,’ उनले भने।
उनले आफूलाई विश्वास गर्न नसके पुनः नजिताउनसमेत मतदातालाई चुनौती दिए। ‘मलाई तपाईंहरूले विश्वास गर्न सक्नुहुन्न भने मलाई नजिताउनुस्। मलाई पाँच वर्ष हेर्नुस्,’ गुरुङले भने।
गृहमन्त्री गुरुङसँग स्थानीयको प्रश्नोत्तरको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।
के छ भिडियोमा ?
कार्यक्रममा चुनावी वाचा स्मरण गराउँदै एक स्थानीयले भने, ‘हजुरले चुनावमा आउँदा मन्त्रालयका सचिवलाई यहीँबाट फोन गरेर ल्याबका लागि आउने बजेटमा सम्बोधन गर्छु भन्नुभएको थियो, तर बजेटमा कहीं देखिँदैन। गाउँका मान्छेले हामीलाई दबाब दिइसके।’
जवाफमा गृहमन्त्री गुरुङले भने, ‘यस्ता साना बजेट किताबमा राख्ने हो भने महाभारत र रामायण मिक्स गरेर पनि बन्दैन। हामीले आवश्यक योजनाको लिस्ट मगाएका छौँ। त्यहीअनुसार काम हुन्छ।’
तर स्थानीयहरू चार महिना बित्दा पनि कामको प्रगति नदेखिएको भनेपछि कडा शैलीमा गृहमन्त्री गुरुङले भने, ‘चार महिनामा बल्ल पहिलो बजेट आएको छ। तपाईंहरूलाई काम भए पुग्ने होइन ? चार महिनामै कायापलट गर्न म सक्दिनँ। अविश्वास भए भोट फिर्ता लिएर जानुस्।’
मन्त्रीको यो अभिव्यक्तिपछि सहभागीहरूले ‘जिताएर पठाएपछि यस्तो भन्नुभयो, पहिले नै भन्नुपर्थ्यो’ भन्दै व्यंग्य गरेको सुनिन्छ।
त्यसपछि गृहमन्त्री गुरुङले ‘मलाई विश्वास गर्न सक्नुहुन्न भने नजिताउनुस्। तर मलाई पाँच वर्ष हेर्नुस्। यति त मैले आँट गरेकै हो। चार महिनामा बल्ल १५–२० दिन काम गर्ने समय भएको छ। अहिले नै चाहियो भन्दैमा तुरुन्तै पाइन्छ र ?’ भन्दै उनले मतदातालाई धैर्य गर्न आग्रह गरे।




प्रतिक्रिया