सुडानमा सैन्य कू, प्रधानमन्त्रीसहित चार मन्त्री सेनाको कब्जामा


एजेन्सी – अफ्रिकी मुलुक सुडानमा सैन्य कू भएको छ । यससँगै प्रधानमन्त्री अब्दुल्ला हमदोक र उनी नेतृत्वका चार मन्त्री पक्राउ परेका छन् । उनीहरुलाई सोमबार बिहानै केही अज्ञात सैनिकले हिरासतमा लिएको बीबीसीले जनाएको छ ।

सुडानको सेनाले भने यसबारेमा केही टिप्पणी गरेको छैन । तर, लोकतन्त्र समर्थक समूहले मानिसलाई सडकमा उत्रेर विरोध प्रदर्शन गर्न अपिल गरेको छ । दुई वर्ष पहिला सुडानमा नेतृत्व गरिरहेका उमर अल बसिरका सत्ताबाट हटाएपछि एक अन्तरिम सरकार अस्तित्वमा आएको थियो । त्यसयता सेना र सरकारबीच तनावको स्थिति सिर्जना भएको थियो ।

प्रत्यक्षदर्शीहरुका अनुसार राजधानी खार्तुममा इन्टरनेट बन्द छ । समाजिक सञ्जालमाहरुमा सेयर गरिएको सन्देशहरुमा मानिसहरुले सडकमा टायर बालिरहेका देखिएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार खार्तुममा सेना र अर्धसैनिक बल तैनाथ गरिएको छ र मानिसहरुको हिँडडुललाई सिमित गरिएको छ ।

खार्तुम विमानस्थल पनि बन्द गरिएको छ र सबै अन्तर्राष्ट्रिय उडानहरु स्थगित गरिएको छ । प्रधानमन्त्रीलगायत मन्त्रीहरूको पक्राउपछि कसको हात रहेको भन्ने अझै प्रष्ट पारिएको छैन । सुडानको सूचना मन्त्रालयले सामाजिक सञ्जालमार्फत ‘संयुक्त सैन्य बल’द्वारा पक्राउ गरिएको र उनीहरूलाई अज्ञात स्थानमा राखिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement