बैठक स्थगित गरिएपछि सभामुखलाई चेतावनी दिदैँ कांग्रेसले भन्यो- भोलि तपाईँलाई गाह्रो पर्नेछ


काठमाण्डु – सुदूरपश्चिम प्रदेशसभाको बुधबारका लागि बोलाएको बैठक स्थगित गरिएपछि नेपाली कांग्रेस आक्रोशित बनेको छ ।

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने गरी आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक बोलाइएको थियो । तर, मुख्यमन्त्री रावलले विश्वासको मत नपाउने भएपछि उक्त बैठक स्थगित गरेपछि कांग्रेसले विरोध गरेको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफूहरूसँग सल्लाह नै नगरी आज आह्वान गरिएको बैठक मुख्यमन्त्रीको आग्रहमा सभामुख भीमबहादुर भण्डारीले स्थगित गरेको आरोप लगाएको छ । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले सत्तारुढ दलले आफ्नो कुर्सी बचाउन बैठक स्थगित गर्न लगाएको बताएका हुन् ।

‘हामीसँग छलफल नै नगरि सभामुखले संसदीय मर्यादा विपरीत काम गर्नुभएको छ । यसमा हाम्रो घोर आपत्ति छ । ठुलो असहमति छ । यसो गर्दा भोलि सभामुखलाई नै गाह्रो होला । आज उहाँ जसरी एकल निर्णय गर्नुभएको छ, भोलि उहाँको निर्णयलाई अन्य दलले कसरी मान्ने भन्ने सवाल आउन सक्छ ।’, उनले भने ।

मुख्यमन्त्री रावललाई नागरिक उन्मुक्ति पार्टीले मत दिने वा नदिने भन्ने बारेमा प्रष्ट धारणा दिएको छैन । नागरिक उन्मुक्तिसंँग ७ जना प्रदेश सभा सदस्य रहेकोमा सबै काठमाण्डुमै छन् ।

नागरिक उन्मुक्ति पार्टीविना प्रदेश सभामा विश्वासको मत नपाइने देखिएपछि सरकारले बुधबारका लागि आह्वान गरिएको प्रदेशसभा बैठक स्थिगित गरेको हो । मुख्यमन्त्री रावलले बिहीबारसम्म विश्वासको मत पाउन नसकेमा उनी पदमुक्त हुनेछन् ।

नागरिक उन्मुक्ति पार्टीसहित नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राप्रपाको समर्थनमा राजेन्द्र रावल पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

बिहीबारसम्म विश्वासको मत पाउन नसकेको स्थितिमा प्रदेशसभाको ठुलो दलको संसदीय दलको हैसियतमा नेपाली कांग्रेसका कमल शाह मुख्यमन्त्रीमा नियुक्त हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement