सुदूरपश्चिम सरकारले ल्याएको बजेट विवादित: आरजुको घर मर्मतका लागि १० लाख बिनियोजन


काठमाण्डु- सुदूरपश्चिम प्रदेश सरकारले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाको धनगढीस्थित घर मर्मतका लागि १० लाख छुट्याएको पाइएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका देउवाकी पत्नी आरजुको घर (मन्त्री निवास) मर्मतका लागि भन्दै १० लाख रुपयाँ बिनियोजन गरेको पाइएको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट बिनियोजन गरेको थियो ।

जसअनुसार प्रदेश सरकारले बिनियोजन गरेको बजेटबाट धनगढी उपमहानगरपालिका–४ मा रहेको आरजुकोे घर मर्मत लागि १० लाख रुपैया छुट्टयाएको हो। हाल उक्त घरमा भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवा आरजुका भतिजा बस्ने गर्छन ।उनि यसअघि आरजुका पिए समेत थिए । पिए हुंदा देउवाले उनको नाम दुरुपयोग गरेर आर्थिक फाइदा लिएको आरोप समेत लाग्ने गरेको थियो ।

सुदुरपश्चिममा सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटको चौतर्फी आलोचना भइरहेको छ । सत्ता साझेदार दलहरु नै प्रदेश सरकारले ल्याएको बजेटको विरुद्धमा उभिएका छन् ।

सुदुरपश्चिम प्रदेश सरकारले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा भौतिक मन्त्रीको आवास मर्मतको लागि छुटाइएको बजेट-

 

गठबन्धनमा आवद्ध तीन दलले यथास्थितिमा बजेट पारित गर्न नसक्ने निर्णय गरिसकेका छन् । सोमबार कांग्रेस बाहेकका तीन सत्तारुढ दलले यथास्थितिमा बजेट पारित गर्न नसक्ने निर्णय गरेका थिए । आफूहरुसँग भएको छलफल र सुझावलाई बेवास्ता गरिएको, प्रदेशसभा सदस्य र जनताको भावना, प्रदेशको आवश्यकता तथा औचित्य विपरीत बजेट आएको तीन दलको निष्कर्ष छ ।

सोमबार नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको कार्यालयमा बसेको नाउपा, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका संसदीय दलको संयुक्त बैठक बसेको थियो । उक्त बैठकले प्रदेश सरकारले बजेट संशोधन नगरेमा यथास्थितिमा पारित गर्न नसकिने निर्णय गरेको थियो ।

अपडेट : मन्त्रालयद्वारा समाचारको खण्डन

सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले सञ्चार माध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। काठमाण्डुपाटीले बुधबार धनगढीमा आरजु राणाको घर मर्मत गर्न सुदूरपश्चिम प्रदेश सरकारको १० लाख विनियोजन शिर्षकमा समाचार प्रकाशित गरेको थियो। सो समाचारको खण्डन गर्दै मन्त्रालयका प्रवक्ता मोहन बहादुर कुँवरले समाचारमा सत्यता नरहेको जिकीर गरेका हुन्।

आगामी आर्थिक बर्षका २०८०/०८१ को बजेटमा भौतिक मन्त्रालयका मन्त्री प्रकाश देउवाको आवास भवन मर्मत तथा रंगरोगनका लागि विनियोजन गरिएको बजेट मन्त्रालय परिसरभित्रै रहेको सरकारी निवासको नियमित मर्मत सम्भारको लागि छुट्याईएको मन्त्रालयले बताएको छ।

सार्वजनिक प्रेस विज्ञप्तीमा भनिएको छ,‘नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री र आरजु राणा देउवाको समेत नाम जोडेर प्रकाशित समाचार कपोकल्पित, भ्रामक र तथ्यहीन रहेको छ।’ मन्त्रालयले हालसम्म मन्त्री देउवा निजी निवासमा बस्दै आएको र मन्त्रालयबाट निवासका लागि कुनै सुविधा नलिएको समेत दाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement