काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतकाे १६औं खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्ससामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन जोडेको हो।
सुदूरपश्चिमका लागि ओपनर सैफ जैब र विनोद भण्डारीले उत्कृष्ट सुरुवात दिलाए। उनीहरूले पहिलो विकेटका लागि ७.३ ओभरमा ६८ रनको साझेदारी गरे। विनोदले २२ बलमा २ चौका र २ छक्कासहित २७ रन बनाए। उनी रन आउट भए।
त्यस्तै, सैफ जैबले २४ बलमा ४ चौका र १ छक्काको मद्दतमा ३५ रन जोडे। उनी सूर्य तामाङको बलमा बोल्ड भए।
ब्रान्डन म्याकमुलेनले २४ रन बनाउँदा कप्तान दीपेन्द्रसिंह ऐरीले १० रन जोडे। इशान पाण्डेले आक्रामक ब्याटिङ गर्दै १३ बलमा ३ छक्कासहित २३ रन बनाए। आरिफ शेखले ११ रनको योगदान दिए।
थरिन्दु रत्नायके २२ र स्कट कुग्लेजिन १३ रनमा अविजित रहे।
कर्णाली याक्सका लागि मार्क वाटले सर्वाधिक २ विकेट लिए। उनले २७ रन खर्चिए। नन्दन यादव, हुसैन तलात र सूर्य तामाङले समान १–१ विकेट हात पारे।


प्रतिक्रिया