सत्ताको आडमा ‘डोजर आतंक’ बन्द गर भन्दै सुकुम्बासी बस्तीमा प्रदर्शन

सत्ताको आडमा ‘डोजर आतंक’ बन्द गर भन्दै सुकुम्बासी बस्तीमा प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुकुम्बासी बस्ती खाली गर्ने सरकारको निर्णयविरुद्ध थापाथलीस्थित सुकुम्बासी बस्तीमा विरोध प्रदर्शन गरिएको छ ।

शुक्रबार राष्ट्रिय जेनजी नागरिक अभियानको अगुवाइमा स्थानीय र जेनजी युवाहरू बस्तीमा भेला भएर विरोध प्रदर्शन गरिरहेका हुन् ।

उनीहरूले ‘सुकुम्बासी बस्तीमा डोजर होइन, न्याय चाहिन्छ’, ‘हुनेलाई महल नहुनेलाई सडक ?’ ‘कहाँ छ तिम्रो न्याय ?’ ‘यो सरकारको वाचा यही हो र ?’ ‘शहर सुन्दर बनाउ तर मान्छे विस्तापित नगर’ जस्ता नारा लगाउँदै प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनमा पुगेकी एक जेनजी युवतीले सरकारले सुकुम्बासीहरूलाई डोजरको आतंक देखाएर राज्यसत्ताको शक्तिको आडमा भूमिहीन सुकुम्बासी बस्तीमाथि डोजर चलाउनु अन्यायपूर्ण रहेको बताइन् ।

संविधानले नागरिकको आवासको हकको सुनिश्चित गरे पनि सरकारले संविधानको मुटुमा डोजर चलाउने काम गरेको उनको भनाइ थियो ।

प्रदर्शनमा पुगेकी ती युवतीले भनिन्, ‘पुराना दलहरूले जसरी सुकुम्बासी भूमिहीनहरूलाई भोटर बैंक बनाए । त्यसैगरी यो सरकारले पनि पूरानै दलहरूको संस्कार अवलम्बन गरिरहेको देखियो । सरकारले भूमिहीन सुकुम्बासीहरूलाई डोजरको आतंक देखाएर राज्यसत्ताको शक्तिको आडमा भूमिहीन सुकुम्बासी बस्तीमाथि डोजर चलाउनु अन्यायपूर्ण छ । मानव अधिकारको पनि उल्लंघन गरेको छ । संविधानले हरेक नागरिकको आवासको हकको सुनिश्चित गरेको छ । सम्मानपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चित गरेको छ । त्यसैले यो सरकारले संविधानको मुटुमा डोजर चलाउने काम गरेको छ ।’