काठमाण्डु – सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समूहबीच बढेको विवाद नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही ठाउँका २४ वर्षीय ओमप्रकाश मेहता छन्। सुनसरीका डीएसपी चन्द्रबहादुर खड्काका अनुसार गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्याउनासाथ आइतबार राति मृत्यु भएको हो ।
दुई पक्षबीचको सामान्य विवाद उग्र बन्दै झडप र हिंसामा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको प्रहरीले जनाएको छ।
घटनामा अन्य १० जना घाइते भएका छन्। घाइतेहरूको विराटनगरका न्युरो, विराट नर्सिङ र नोबेल मेडिकल कलेजलगायतका अस्पतालहरूमा उपचार भइरहेको छ।
केही घाइतेको अवस्था गम्भीर रहेको र उनीहरूको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रत्यक्षदर्शीका अनुसार साउने सोमबारका अवसरमा बोलबम यात्राका लागि सप्तकोसी नदीतर्फ जान युवाहरूको एउटा समूह डिजे बजाउँदै तयारी गरिरहेको थियो।
सोही क्रममा अर्को समूहले रातिको समयमा होहल्ला र अवरोध पुगेको भन्दै आपत्ति जनाएपछि दुई पक्षबीच भनाभन भएको थियो।
आइतबार राति सुरु भएको सामान्य भनाभनपछि स्थिति नियन्त्रणबाहिर गएको स्थानीयले बताएका छन्। स्थिति बिग्रँदै गएपछि दुवै पक्षबीच आक्रमण, आगजनी र तोडफोड सुरु भएको स्थानीयको भनाइ छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थल पुग्दा घर, मेडिकल तथा सवारी साधनहरूमा तोडफोड र आगजनी भइरहेको थियो।
स्थिति थप हिंसात्मक बन्दै गएपछि इनरुवास्थित जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले स्थिति तत्काल नियन्त्रणमा लिन बल प्रयोग गर्ने निष्कर्ष निकालेको थियो।
घटनाबारे थप विवरण आउन बाँकी छ। सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।
कर्फ्यु आदेश जारी
यसबीच स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सुनसरीको दक्षिण क्षेत्रमा रहेका पाँच बजारमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु जारी गरेका हुन् । स्थानीय प्रशासनले सुनसरीको दक्षिण क्षेत्रमा पर्ने हरिनगरा बजार क्षेत्र, भुटाहाको बजार क्षेत्र, कप्तानगंजको बजार क्षेत्र, घुस्कीको बजार क्षेत्र र देवानगञ्ज बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो । हरिनगरा बजार क्षेत्रको पूर्वतर्फ नूनिया टोल, पश्चिम तर्फ खुनिया धार, उत्तर तर्फ हरिनगर गापा कार्यालय र दक्षिण तर्फ बसन्तपुर मोडसम्म कर्फ्यु जारी भएको छ ।
भुटाहा बजार क्षेत्रको पूर्व तर्फ मोरीया धार खोला, पश्चिम तर्फ इदगाहा फिल्ड, उत्तर तर्फ सुनसरी खोला र दक्षिण तर्फ हरिनगर गापा कार्यालयसम्म कर्फ्यु छ । कप्तनगंज बजार क्षेत्रको पूर्व तर्फ यादव टोल, पश्चिम तर्फ पाँचौ सिमल मावि, उत्तर तर्फ कृष्ण मावि र दक्षिण तर्फ नेपाल( भारत सीमा क्षेत्रसम्म कर्फ्यु जारी भएको छ ।
घुस्की बजार क्षेत्रको पूर्व तर्फ कासमिया मदरसा, पश्चिम तर्फ प्रहरी चौकी घुस्की, उत्तर तर्फ इशा हार्डवेयर र दक्षिण तर्फ हिलाल पब्लिक स्कुलसम्म कर्फ्यु लागेको छ ।
देवानगंज बजार क्षेत्रको पूर्वतर्फ विराटनगर जाने बाटोको मुसहर टोल, पश्चिम तर्फ मोरीया खोला, उत्तर तर्फ चिउरा मिल र दक्षिण तर्फ गाउँपालिकाको कार्यालयसम्म कर्फ्यु आदेश जारी भएको हो ।
कर्फ्यू बिहान ७ बजेदेखि लागू भएको छ । कर्फ्यु जारी भएको समयमा हिँडडुल गर्न भेला, जुलुस, सभा गर्न रोक लगाइएको छ ।




प्रतिक्रिया