आजदेखि सर्वोच्च अदालतमा अत्यावश्यक मुद्दा मात्रै हेरिने


काठमाण्डु – सर्वोच्च अदालतमा बुधवारदेखि सेवा कटौती गरिएको छ । सर्वोच्च अदालतको मंगलवार बसेको पूर्ण बैठकले केहि न्यायाधीश, मुख्य रजिस्ट्रारलगायत ३१ जनामा कोरोना संक्रमण देखिएपछि माघ १८ गतेसम्मका लागि अति अत्यावश्यक मुद्दा मात्रै हेर्ने निर्णय गरेको हो ।

आजदेखि बन्दी प्रत्यक्षीकरण, सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनहरूको नियमित सुनुवाइ गर्ने, मुद्दा फिर्ता तामेली तथा मिलापत्रसम्बन्धी कामकारवाही नियमित सञ्चालन गर्ने, थुनुवा भएका मुद्दाको सुनुवाइ गर्ने, हेर्दाहेर्दै र निसुमा रहेका मुद्दाको सुनुवाइ गर्नेलगायतका सेवा प्रवाह हुनेछ ।

त्यस्तै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ ९६० र १५५ बमोजिमका थुनुवा रहेका व्यक्तिहरूको निवेदन तथा प्रतिवेदनमाथि सुनुवाइ गर्ने, सरकारको तर्फबाट दर्ता भएका प्रत्यर्थी झिकाउने आदेश नभएका पुनरावेदनको सुनुवाइ गर्नेबाहेकका अन्य सेवाहरू रोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement