न्यायाधीशहरू गम्भीर विवादमा परेपछि सर्वोच्चमा फूल कोर्ट, छानबिनबारे छलफल हुँदै

न्यायाधीशहरू गम्भीर विवादमा परेपछि सर्वोच्चमा फूल कोर्ट, छानबिनबारे छलफल हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- न्यायालयका उच्च पदाधिकारी र बिचौलियाबीचको कथित सम्बन्ध तथा घुस लेनदेनसम्बन्धी विवरण सार्वजनिक भएपछि सर्वोच्च अदालतमा सोमबार फूल कोर्ट (पूर्ण बैठक) बसिरहेको छ। यसअघि शुक्रबार बसेको फूल कोर्ट निष्कर्षविहीन भएपछि सोमबार कार्यालय खुल्नेबित्तिकै फूल कोर्ट बसेको हो ।

प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्यायालयसँग जोडिएको पछिल्लो विवादबारे छलफल गर्न सबै न्यायाधीश सम्मिलित बैठक राखिरहेका छन्।

सोमबार सर्वोच्च अदालतमा प्रन्या शर्मा र अर्की न्यायाधीश सारंगा सुवेदीको इजलास तोकिएको छैन। सारंगाको नाम पनि विचौलिया भनिएका इनम सापकोटाले प्रहरीसँगको बयानमा पोलेका छन्।

उता इनमसँग नै भेटघाट र म्यासेज आदानप्रदानपछि गम्भीर विवादमा परेका न्यायाधीश हरि फुयालको भने इजलास राखिएको छ। दुईवटा हेर्दा हेर्दैमा रहेका मुद्दा रहेकाले उनको इजलास तोकिएको छ ।

न्यायाधीशहरू एकपछि अर्को गम्भीर विवादमा जोडिएपछि यसअघि गत बुधबार र बिहीबार सर्वोच्चमा संवैधानिक इजलासको बैठक पनि बस्न सकेको थिएन। जसका कारण पेशीमा चढाउन तोकिएका सबै मुद्दाको सुनुवाइसमेत स्थगित गर्नुपरेको थियो ।

सोमबार बसिरहेको फूल कोर्ट बैठकको एजेन्डामा ‘समसामयिक विषयमा छलफल’ उल्लेख गरिएको छ।

बिचौलिया सापकोटा र सर्वोच्च अदालतका न्यायाधीशहरूको संवाद र उठबसको कुरा सार्वजनिक भएपछि न्यायालयभित्र तरंग उत्पन्न भएको छ।

त्यससँगै सार्वजनिक भएको प्रहरीको डिजिटल फरेन्सिक परीक्षणसम्बन्धी भनिएको कागजातमा प्रधानन्यायाधीश शर्माको नाम र अमेरिकामा रकम जम्मा गर्नेसम्बन्धी विवरणसमेत उल्लेख भएपछि विवाद थप गम्भीर बनेको छ।

प्रधानन्यायाधीशकै नाममा विदेशमा घुस रकम जम्मा गरिएको भनिएको विवरण सार्वजनिक भएपछि सर्वोच्च अदालतको नेतृत्वमाथि नै प्रश्न उठेको छ।

यस्तो अवस्थामा शनिबार बसेको रास्वपा सचिवालय बैठकले विवादमा तानिएका न्यायाधीशमाथि छानबिन र महाभियोगसम्मको विकल्पमा जान सकिने निष्कर्ष निकालेको थियो ।

संसद्मा करिब दुईतिहाइ मत भएको सत्तारूढ दलको उक्त निर्णयले सर्वोच्चमा झन् ठूलो तरंग ल्याएको छ। तर रास्वपाले न्यायाधीश फुयाललाई मात्रै महाभियोग लगाउनुपर्ने निचोड निकालेको छ। प्रन्या शर्माबारे रास्वपा मौन रहेको छ। पछिल्लो पटक अर्की न्यायाधीश सुवेदी पनि इनमसँगको कनेक्सनले विवादमा तानिएकी छन्।

यसअघि विवाद सार्वजनिक भएपछि प्रधानन्यायाधीश शर्माले गत बिहीबार नै विज्ञप्ति जारी गर्दै बिचौलिया इनम सापकोटासँग आफ्नो भेटघाट नभएको र घुस रकम नलिएको स्पष्ट पारेका थिए।

उता न्यायाधीश फुयालसहित अन्य न्यायिक पदाधिकारीले पनि सापकोटासँगको सम्पर्क र उठबससम्बन्धी आरोप अस्वीकार गरेका थिए। तर फुयालले एक स्पष्टीकरणका क्रममा सापकोटासँग हिमालय होटलमा भेटेको स्वीकारेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहको नाम लिँदै पटक पटक म्यासेज गरेपछि भेटेको उनले बताएका छन्।

फूल कोर्ट सर्वोच्च अदालतका सबै न्यायाधीश सहभागी हुन पूर्ण बैठक हो। यसमा अदालतको प्रशासनिक व्यवस्थापन, संस्थागत विषय र समसामयिक न्यायिक सवालमा छलफल हुने गर्छ।