सैनिक जवान हत्या मुद्दा सैनिक अदालत नपठाउन सर्वोच्चको आदेश


काठमाण्डु – सर्वोच्च अदालतले सैनिक जवान गंगाधर ढकालविरूद्धको कर्तव्य ज्यानसम्बन्धी मुद्दा सैनिक अदालत नपठाउन अन्तरिम आदेश जारी गरेको छ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको एकल इजलासले सैनिक जवान हत्या मुद्दा चितवन जिल्ला अदालतकै क्षेत्राधिकार भएको भन्दै उक्त मुद्दामा जिल्ला अदालतले नै सुनुवाइ गर्न अन्तरिम आदेश जारी गरेको हो ।

गएको साउनमा नेपाली सेनाको ‘द फेमस महिन्द्र दल गण’ शिवपुरीमा कार्यरत जवान ढकालले हुद्दा भरत गुरूङलाई चितवनको भरतपुर–१७ मा गोली हानी हत्या गरेका थिए । उक्त घटनामा प्रहरीले अनुसन्धान गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा चितवन जिल्ला अदालतमा हत्या मुद्दा चलाएको थियो ।

सेनाको हतियार प्रयोग गरी आफ्ना सहकर्मीको हत्या गरेको भन्दै उक्त मुद्दा सैनिक अदालतले सुनुवाइ गर्नुपर्ने भन्दै पत्राचार गरेपछि जिल्ला अदालत चितवनले उतै पठाइदिएको थियो । तर उक्त मुद्दा सैनिक अनुशासनको मात्र नभएर फौजदारी अपराध भएकाले त्यसको क्षेत्राधिकार नियमित अदालतकै हुने जिकिर गर्दै उच्च अदालत पाटनको हेटौंडा इजलासमा निवेदन परेको थियो । उक्त मुद्दा चितवन जिल्ला अदालतमै फर्काउन आदेश माग्दै उच्च सरकारी वकिलको कार्यालयले दिएको निवेदन हेटौंडा इजलासले खारेज गरेको थियो ।

त्यसपछि महान्यायाधिवक्ताको कार्यालयले उक्त मुद्दाको क्षेत्राधिकार सैनिक अदालत नभएर नियमित इजलासकै भएको जिकिर गर्दै रिट दिएको थियो । संविधानले दिएको क्षेत्राधिकार विपरीत जिल्ला अदालतले आदेश गरेको भन्दै सरकारी वकिल र महाधिवक्ता कार्यालय उपल्ला अदालत गएको हो । आइतबार उक्त रिटको पहिलो सुनुवाइ गर्दै प्रधानन्यायाधीश राणाको इजलासले सो अन्तरिम आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement