१२ जिल्लामा कोरोना सङ्क्रमण समुदायस्तरमा पुग्योः जनस्वास्थ्यविद्


काठमाण्डु – जनस्वास्थ्यविद्ले ५०० भन्दा बढी कोरोना भाइरस  सङ्क्रमण भएका जिल्लालाई नियन्त्रण गर्न सके अरु जिल्लामा फैलन नसक्ने बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा आज जनस्वास्थ्यविद् डा सुरेश तिवारीले १२ जिल्लामा सङ्क्रमण समुदायस्तरमा नै पुगेकाले नियन्त्रण गर्नुपर्ने बताए ।

मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाण्डु, ललितपुर र रुपन्देही जिल्लामा ५०० भन्दा बढी सङ्क्रमित छन् । आज एकै दिन एक हजार ६९ जनामा सङ्क्रमण देखिएको छ । अहिलेसम्म ४० हजार ५२९ जनामा सङ्क्रमण देखिएको छ ।

‘ती १२ जिल्ला सङ्क्रमणको हटस्पट भएको छ, त्यहाँ सङ्क्रमण समुदायस्तरमा पुगेको हामीले आकलन गरेका छौँ ’, उनले भने ।

जनस्वास्थ्यविद् डा तिवारीका अनुसार औसत २२ देखि २४ प्रतिशतले सङ्क्रमण बढिरहेको छ । महिलामा आठ प्रतिशत र वृद्धमा एक प्रतिशतबाट चार प्रतिशत पुगेको छ ।

परीक्षण गरिएकामध्ये ८ देखि ९ प्रतिशतमा सङ्क्रमित बढिरहेको तथ्यांकले देखाएको जनाइएको छ । डा तिवारीले कोभिड १९ कै कारण मुलुकको अर्थतन्त्र ठप्प पार्न नहुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement