काठमाडौं – जापानी ठेकेदार हाजमा एन्डो कर्पाेरेसनले नागढुंगा सुरुङ निर्माण आयोजनामा नेपाली सेनाद्वारा उत्पादित विस्फोटक पदार्थ प्रयोग गर्न अस्वीकार गरेको छ। सेनाले आफूले उत्पादन गरेको मात्र प्रयोग गर्न दिने र विदेशी विस्फोटक पदार्थ आयातलाई सहमति नदिने अडान राखेपछि हाजमाले बुधबार सडक विभागलाई पत्र पठाई यस्तो जानकारी दिएको हो।
विस्फोटक पदार्थ आयातमा सेनाले असहमति जनाएपछि आयोजना प्रभावित हुने भन्दै हाजमाले सडक विभागलगायत परामर्शदाता (निप्पोन कोईलगायत) लाई पत्र लेखी सेनाले उत्पादन गरेको विस्फोटक पदार्थ प्रयोग गर्न नसकिने अडान राखेको छ।
‘विस्फोटक पदार्थ आयातसम्बन्धी नेपाल सरकार, सडक विभाग र नेपाली सेनासँग पटकपटक पत्राचार र बैठक भए’, पत्रमा छ, ‘यो पत्र लेखिरहँदा सेनाबाट सहमति प्राप्त हुनेमा अनिश्चितता रहँदारहँदै पनि हाम्रो कम्पनीको व्यावसायिक चासोलाई जोडदार महत्व दिन्छौं।’
नेपालमै उत्पादित विस्फोटक पदार्थ उपयोगका लागि नेपाली सेनाले गरेको आग्रह महत्वपूर्ण नभएको हाजमाको दाबी छ। पत्रमा जनवरी २० का दिन भएको बैठक (सेनासहित) का क्रममा उठेका चासोलाई दोहोर्याइएको छ।
‘सुरुङमा ड्रिल र ब्लास्ट (विस्फोट) इन्जिनियरिङ विधाको सबैभन्दा खतरनाक गतिविधि हो, जुन ढुंगा फोर्दा गरिएको विस्फोटबाट उत्पन्न हुने धुवाँले मानव स्वास्थ्यमा प्रतिकूल असर पारी जीवनमै जोखिममा पारिदिन्छ,’ पत्रमा छ।
नेपाली सेनाले उत्पादन गरेको विस्फोटक पदार्थ उपयोग गरेको कुनै अभिलेख वा डाटा उपलब्ध भएको प्रमाण नभेटिएकाले हाजमा आयोजनाको समय–सीमालाई मध्यनजर गर्दै विस्फोटक पदार्थ आयातका लागि विचार गर्न बाध्य भएको पत्रमा जनाइएको छ।
नेपाली सेनाले विस्फोटक (डिटोनेटर्स), तार जस्ता विस्फोटक पदार्थसँग सम्बद्ध अन्य सामग्री (एक्सप्लोसिभ एसेसोरिज) उत्पादन नगरेकाले खरिद प्रक्रियामा जटिलता आउने उसले जनाएको छ। ‘यसबाहेक अहिलेको विश्वव्यापीकरणको जमानामा हामी अभैm खुला बजार प्रतिस्पर्धामा विश्वास गर्दछौं र माथिका कुरालाई विचार गर्दा के निष्कर्ष निस्कियो भने हाम्रो कम्पनीको हित र सुरक्षाका दृष्टिले विस्फोटक पदार्थ आयात गर्नु धेरै लाभदायी देखियो,’ पत्रमा छ, ‘यद्यपि, भविष्यमा हामीले उठाएका चासो सम्बोधन भएमा नेपालमा उत्पादित विस्फोटक पदार्थ उपयोग गर्ने बाटो बन्द गरेका छैनौं।’
हाजमाले विश्वव्यापी रुपमा परीक्षण गरिएको विश्वसनीय विस्फोटक पदार्थ (इमोल्सुन) र यसका सामग्री ठेक्का सम्झौताबमोजिम नियोक्ता (सडक विभाग) को सहयोगमा आयात गर्ने आफ्नो निर्णयमा अडिग रहेको जनाएको छ।
यसअघि गत माघ १५ गते सैनिक मुख्यालयमा दुई जनरलसहित आयोजना निर्देशक, आयोजना प्रमुख, परामर्शदातासहितको बैठकमा हाजमाका प्रतिनिधिले सेनाद्वारा उत्पादित विस्फोटक पदार्थ नागढुंगा सुरुङ खन्न उपयोग गर्न नसकिने जनाउ दिएको थियो।’यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।




प्रतिक्रिया