काठमाण्डु- नेपालकै पहिलो आधुनिक सुरुङमार्ग सिस्नेखोला–नागढुंगा तयार भएको छ । सुरुङमार्गको उद्घाटन सोमबार गरिँदैछ ।
पूर्वाधार विकासमन्त्री सुनील लम्साल, नेपालका लागि जापानी राजदूत माएदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का नेपाल अध्यक्ष मिजुकी मात्सुजाकीलगायतले सोमबार सुरुङमार्गको उद्घाटन गर्ने कार्यक्रम छ ।
यद्यपि उद्घाटन सम्पन्न भएलगत्तै सर्वसाधारणका लागि सुरुङमार्ग खुला गरिने छैन। सडक विभागका अनुसार उद्घाटनपछि केही समय सुरुङमार्गमा परीक्षणात्मक सवारी सञ्चालन तथा प्राविधिक परीक्षण गरिनेछ।
सुरुङमार्ग उद्घाटनको दिन एम्बुलेन्स, सुरक्षा निकायलगायत आकस्मिक सेवाका सवारीसाधनलाई मात्रै चल्ने छ । ‘त्यस्ता गाडीको आगमनका आधारमा सुरुङमार्गको प्राविधिक परीक्षण पनि गरिनेछ’ सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले भने ।
साउनको अन्तिम साता वा भदौ पहिलो सातादेखि अन्य नियमित सवारीसाधनलाई पनि सुरुङमार्ग खुला गरिने प्रवक्ताम न्यौपानेले बताए ।
यस सुरुङमार्गको औपचारिक शिलान्यास २०७६ कार्तिकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली गरेका थिए । परियोजनाको सुरुवाती लागत करिब २२ अर्ब रुपैयाँ अनुमान गरिएको थियो तर निर्माणका क्रममा भूगर्भीय समस्या, डिजाइन परिवर्तन र अन्य कारणले लागत बढ्दै २७ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।
सुरुङमार्गबाट गाडी सञ्चालन गर्दा एम्बुलेन्सजस्ता आकस्मिक सेवाका सवारीसाधनलाई शुल्क लाग्ने छैन भने अन्य सवारीसाधनले भने तोकिएको शुल्क तिर्नुपर्छ ।
सुरुङमार्ग हुँदै काठमाण्डु भित्रिने कार तथा भ्यानलाई ६५ रुपैयाँ, मिनीबस तथा ट्रकलाई एक सय १५ रुपैयाँ, ठुला बस तथा ट्रकलाई दुई सय ६० रुपैयाँ र भारी उपकरणलाई ६ सय रुपैयाँ शुल्क तोकिएको छ ।
यस्तै, सुरुङमार्ग हुँदै काठमाण्डुबाट बाहिरिँदा कार तथा भ्यानलाई ६० रुपैयाँ, मिनीबस तथा ट्रकलाई ८० रुपैयाँ, ठुला बस तथा ट्रकलाई दुई सय रुपैयाँ र ठुला उपकरणलाई दुई सय ५० रुपैयाँ शुल्क तोकिएको छ ।
मोटरसाइकल, तीनपांग्रे सवारीसाधन, इन्धन बोक्ने ट्रकलाई भने सुरुङमार्गमा निषेध गरिएको छ । सुरुङमार्ग सञ्चालन निर्देशिकाअनुसार सुरुङभित्र पैदलयात्री, दुईपाङ्ग्रे, तीनपाङ्ग्रे र इन्जिन नभएका (नन–मोटराइज्ड) सवारीसाधनलाई प्रवेशमा रोक लगाइएको छ। त्यस्तै, १८ मिटर लम्बाइ, २.५ मिटर चौडाइ र ४.७५ मिटर उचाइभन्दा बढी नाप भएका तथा सरकारले तोकेको भारवहन क्षमताभन्दा बढी भार बोकेका सवारीसाधनले पनि सुरुङमार्ग प्रयोग गर्न पाउने छैनन्।
यसका साथै मट्टितेल, डिजेल, पेट्रोल, ग्यास, विस्फोटक पदार्थ, सुरक्षा निकायबाहेकका हातहतियार, स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने पदार्थ, दुर्गन्धित तथा कुहिएका मालसामान र कानुनले निषेध गरेका अन्य सामग्री बोकेका सवारीसाधनलाई समेत सुरुङमार्गभित्र प्रवेश निषेध गरिएको छ।
परियोजनामा मुख्य र रेस्क्यु गरेर दुई सुरुङमार्ग छन् । पश्चिम धादिङको सिस्नेखोलाबाट सुरु भएको सुरुङमार्ग काठमाण्डु–नागढुंगामा निस्कनेछ ।
यो सुरुङमार्गले सडकको २.८ किमि दूरी घटाउनेछ । सुरुङमार्गबाट काठमाण्डु भित्रिँदा ३३ मिनेट र काठमाण्डुबाट बाहिरिँदा २३ मिनेट समय बचत हुनेछ ।
सुरुङभित्र अत्याधुनिक सुरक्षा प्रविधि पनि जडान गरिएको छ। सिसिक्यामेरादेखि फ्यान, फायर हाइड्रेन्ट, अलार्मलगायत सुरक्षाका सम्पूर्ण प्रबन्ध मिलाइएको छ।
सुरुङमार्ग निर्माण जापानको हाज्मा एन्डो कर्पोरेसनले गरेको हो । सुरुङमार्ग निर्माणका लागि सडक विभाग र कम्पनीबिच सेप्टेम्बर २०१९ मा ठेक्का सम्झौता भएको थियो ।
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको ठेक्का चिनियाँ संलग्न ज्वाइन्ट भेन्चर कम्पनी युक्सिन–एआरटीले पाइसकेको छ।
जाइकाले २०१३ मा यसको अध्ययन गरेको थियो । त्यसको १३ वर्षपछि परियोजना सञ्चालनमा आएको हो । परियोजनाको लागत २८ अर्ब रुपैयाँ रहेको छ । त्यसमा साढे २२ अर्ब रुपैयाँ जाइकाले ऋण दिइरहेको छ । बाँकी सरकारले लगानी गरेको छ ।
नेपालकै महत्त्वपूर्ण पूर्वाधार आयोजनामध्ये एक मानिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाण्डु उपत्यकामा प्रवेश गर्ने सवारीसाधनको आवागमन सहज हुनुका साथै यात्रा समयसमेत उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया