सुष्मा स्वराजको भ्रमणलाई कूटनीतिक अध्ययन संस्थाले गर्‍यो स्वागत


काठमाडौं – कूटनीतिक अध्ययन संस्थाले हालै भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणको स्वागत गरेको छ ।

संस्थाले आज जारी गरेको एक विज्ञप्तिमा भनेको छ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समाप्त भई वामपन्थीको नेतृत्वमा सरकार गठन गर्ने पूर्वसन्ध्यामा आफ्नो विशेषदूतको रुपमा स्वराजको नेतृत्वमा पठाएको उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपालमा छिट्टै बन्ने वामपन्थीहरुको सरकारसँग मिलेर कार्य गर्ने र नेपालको स्थिरता र समृद्धिका लागि सघाउने सन्देश दिनुका साथै सहकार्य गर्न इच्छुक रहेको भनी जानकारी गराउनुलाई नेपाल–भारतबीच कूटनीतिक अनुकुलताको प्रारम्भ भएको रुपमा लिन सकिन्छ ।

यस कार्यले भारतले नेपालसँग नयाँ किसिमको सम्बन्ध कायम गर्न चाहेको अनुभव गरिएको संस्थाले जनाएको छ ।

यो भ्रमण अचानक र अस्वभाविक रुपमा देखिएकाले कतिपयलाई आश्चर्य लागेको हुन सक्छ तर कुटनीतिमा आफ्नो सम्बन्ध अनुकुल बनाई राख्नु र आफ्नो हित विपरित हुन नदिने सर्वमान्य सिद्धान्त अनुकुल नै रहेको हुँदा यसलाई दुबै देशबाट एकअर्काबीच विश्वासको वातावरण बनाई नयाँ आधारबाट सम्बन्ध विकसित गर्न देखाएको उत्सुकताका रुपमा लिनु पर्दछ, विज्ञप्तिमा उल्लेख छ ।

संस्थाले नेपाल र भारतबीचमा संविधान तथा मधेशको विषयलाई लिएर नेपाल र भारतबीचको सम्बन्धमा रहेको तिक्ततापूर्ण सम्बन्धमा सुधार गरी नेपाललाई विकास र समृद्धिमा सहयोग गर्ने जुन सन्देश दिने काम भएको छ, यसबाट भारतले नेपालसँग बिथोलिएको सम्बन्धलाई सच्याउन इच्छुक भएको देखिएको उल्लेख गरेको छ । यसबाट वामपन्थीहरु सरकारमा आएपछि भारत सम्बन्धको बारेमा देखिएको अनिश्चिताको वातावरण समेत समाप्त भएको संस्थाले जनाएको छ ।

कुटनीतिमा हिजो के थियो भन्ने भन्दापनि आजको अवस्थामा मुलुकको हित, सम्वद्र्धन कसरी हुन सक्छ ?, मुलुकले स्थायित्व, समृद्धि र विकास कसरी गर्न सक्दछ ? भन्ने कुरालाई महत्व दिइने हुनाले यो भ्रमणले भारत र नेपाल बीचमा विगतमा कस्ता सम्बन्ध थिए भन्दा पनि भविष्यमा कस्तो सम्बन्ध गर्ने भन्ने कुराको आधार तयार भएकोलाई महत्व दिनुपर्ने पनि संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement