स्वास्थ्यमन्त्री त्रिपाठी र भारतीय समकक्षीबीच फोन वार्ता, के भयो कुराकानी ?


काठमाण्डु – नेपाल र भारतका स्वास्थ्यमन्त्रीबीच फोनवार्ता भएको छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र भारतका समकक्षी हर्ष वद्र्धनबीच शुक्रबार भएको टेलिफोन वार्तामा कोभिड–१९ खोप आपूर्तिको विषयमा कुराकानी भएको हो ।

संवादका क्रममा स्वास्थ्यमन्त्री त्रिपाठीले अवरुद्ध खोप आपूर्तिलाई सुचारु गर्न भारतलाई आग्रह गरेका छन् । जवाफमा भारतीय स्वास्थ्यमन्त्री हर्षवद्र्धनले यसबारे आफूले सिरम इन्स्टिच्युटसँग बुझेर चाँडै खबर गर्ने बताएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि यही विषयमा भारतीय समकक्षी एस जयशंकरसँग कुरा गरेका थिए ।

दुई मन्त्रीबीच कोभिड–१९ को दोस्रो लहरसँग मिलेर लड्ने विषयमा पनि कुराकानी भएको थियो । मन्त्री त्रिपाठीले नेपाल र भारतबीच खुला सीमा भएकाले पनि भारतले नेपाललाई खोप आपूर्तिमा प्राथमिकता दिनुपर्ने माग गरेका थिए । सिरम इन्स्टिच्युटले नेपाललाई सम्झौताअनुसार थप १० लाख डोज खोप दिन बाँकी छ । खोप समयमै नआउँदा नेपालको खोप अभियान प्रभावित बनेको छ ।

खोप रोकिएपछि नेपालले कुटनीतिक पहल थालेको हो । साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतीय खोप उत्पादक कम्पनी सिरम इन्टिच्युट अफ इण्डियालाई नेपालले खरिद गरेको बाँकी खोप उपलब्ध गराउन तेस्रो पटक ताकेता पत्र समेत पठाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement