काठमाण्डु– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सबै अस्पताललाई निर्देशन दिएको छ।
मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो।
मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा अत्यावश्यक,जीवनरक्षक र संवेदनशील सेवा भएकाले नागरिकको उपचारमा कुनै अवरोध आउन नहुने जनाएको छ ।
चिकित्सक,स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुर्व्यवहारका घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका लागि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाइरहेको मन्त्रालयले जनाएको छ।
स्वास्थ्यकर्मीहरूमाथि हुने दुर्व्यवहारको विरोध गर्दै नेपाल चिकित्सक संघले आज देशभरीका सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा ओपिडी सेवा बन्द गर्ने घोषणा गरेपछि मन्त्रालयले अपिल गर्दै विज्ञप्ति निकालेको हो ।





प्रतिक्रिया