१० क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया अवरुद्ध

१० क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रक्रिया १० वटा क्याम्पसमा अवरुद्ध भएको छ ।

निर्वाचन हुन लागेका त्रिविका ६२ मध्ये ५० आंगिक क्याम्पसमा उम्मेदवारी दर्ता भने भएको छ ।

तर बाँकी १० वटामा उम्मेदवारी दर्ता हुन नसकेको स्ववियु केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए ।

विद्यार्थी संगठनहरूबीचको विवादका काठमाडौंका ५, मधेसका २, लुम्बिनीका २ र कोशीको एक गरी १० क्याम्पसमा उम्मेदवारी दर्ता हुन नसकेको हो ।

यता, धनकुटा बहुमुखी र दाङ बहुमुखी क्याम्पसमा उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । तर बुटवल बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पसमा प्रक्रिया अवरुद्ध भएको निर्वाचन समितिका सदस्य सचिव अधिकारीले बताए ।

यस्तै, जनकपुर र सिरहाको एउटा क्याम्पसमा पनि विवाद छ भने स्नातकोत्तर क्याम्पस विराटनगरमा केही संगठनले तालाबन्दी गरेका छन् । काठमाडौं उपत्यकाको पद्मकन्या क्याम्पसमा पनि तनाव छ भने नेपाल ल, पव्लिक युथ, सरस्वती क्याम्पस र विश्वभाषामा पनि निर्वाचन प्रक्रिया अवरुद्ध भएको उनले बताए ।

त्रिविका आंगिक ६२ सहित सामुदायिक र निजी एक हजार ४० क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन हुन लागेको हो । निर्वाचन प्रत्यक्ष र समानुपातिक प्रणालीका अधारमा हुनेछ ।

स्ववियु चुनावका लागि देशभरमा आंगिक, सामुदायिक र निजी क्याम्पसमा विभिन्न २२ संगठन दर्ता भएका थिए ।