स्वीमर गौरिका सिंह बनिन् एसियाकै प्रभावशाली युवती


काठमाण्डु – नेपाली स्वीमर गौरिका सिंह एसियाकै प्रभावशाली युवाको सूचीमा परेकी छन् । अमेरिकी म्यागजिन फोर्ब्सले मंगलबार ‘फोर्ब्स थर्टी अन्डर थर्टी एसिया २०२१’ मा परेका प्रभावशाली युवाहरुको सूची सार्वजनिक गरेको थियो ।

सो प्रभावशाली युवाहरूको सूचीमा गौरीका ‘इन्टरटेन्मेन्ट एन्ड स्पोर्ट्स’ तर्फ एसियाकै प्रभावशाली ३० युवामा परेकी हुन् । एसियामा यस क्षेत्रमा सबैभन्दा धेरै उपलब्धी हासिल गरेका ३० वर्षमुनिका ३० जनामध्ये गौरिका पनि छानिएकी हुन् । यो सूचीका लागि कूल ३ सय जना मनोनयनमा परेका थिए । तीमध्येबाट ३० जना छानिएका हुन् ।

फोर्ब्सले लेखेको छ, ‘गौरिका सिंह नौ वर्ष भएदेखि नै पौडीमा छिन् र १२ वर्षदेखि नै नेपालको लागि प्रतिस्पर्धा गरिरहेकी छन् । दक्षिण एसियाली खेलकुद २०१९ मा चार स्वर्ण, दुई रजत र तीन कांस्यपदक जितिन् । उनी रियो ओलम्पिक २०१६ मा सबभन्दा कम उमेरकी खेलाडी थिइन् ।

उनी टोकियो ओलम्पिक २०२० लाई पनि छनोट भएकी छन्, जुन स्थगित भएर जुलाई–अगस्ट २०२१ मा हुदैछ । पौडीबाहेक उनी समाजसेवामा पनि संलग्न छिन् । उनी गैरनाफामूलक संस्थाहरू माइती नेपाल र शान्ति एजुकेसन इनिसिएटिभकी सद्भावना दूत हुन् ।’

प्रतिक्रिया दिनुहोस
Advertisement