कसरी रोक्न सकिन्छ सास गन्हाउंने समस्या ?


काठमाडौं –मुख स्वास्थ्यले हरेक व्यक्तिको व्यक्तित्व विकासमा ठूलो भूमिका खेलेको हुन्छ । गोरो वर्ण, सुन्दर अनुहारले मात्र व्यक्तिको व्यक्तित्व झल्काउँदैन । त्यसका लागि व्यक्तिको मुख स्वास्थ्य राम्रो हुनुपर्छ ।

मिलेका दाँत भएरमात्र मुख स्वास्थ्य राम्रो छ भन्न सकिँदैन । त्यसका लागि दाँतसँंगै सास गन्हाउने समस्या हुनु हुँदैन । कुनै मानिसको छेउमा बस्दा मुखबाट ह्वास्स नराम्रो गन्ध आयो भने तपाईं जतिसुकै सुन्दर भए पनि त्यसको कुनै अर्थ रहँदैन । मानिसहरू तपाईंको नजिक आउनै चाहँदैनन् । त्यसैले स्वास्थ्यका लागि मात्र नभएर व्यक्तित्व विकासका लागि पनि मुख स्वास्थ्यमा ध्यान दिनै पर्छ । धेरै जनाको सास गन्हाउने समस्या हुन्छ ।

चुम्बन, मुस्कान र स्वस्थ श्वास । तपाईंलाई सबैभन्दा बढी कुन मन पर्छ ? तपाईंको रोजाइमा अवश्य पनि ताजा सास नै होला । यति हुदाहुंदै पनि अधिकांशमा श्वाससम्बन्धी समस्या पाइन्छ । दुर्गन्धित सासले तपाईंलाई मात्र होइन, तपाईं वरपर बस्नेलाई पनि असर गरेको हुन्छ ।
तपाईंको टन्सिल फराकिलो र वरपर ससाना छिद्र छन् भने पनि सास गन्हाउंछ ।बिहान–बेलुका खाएका खानेकुरा र चिल्लो पदार्थ यस्ता टन्सिल वरपरको छिद्रामा जम्मा हुंदा दुर्गन्ध आउंछ ।

तीक्ष्ण खाना जस्तै प्याज, लसुन, चाउचाउको धुलो, सुप र माछाका परिकार खांदा मुख गन्हाउंछ । तसर्थ यी खानेकुरा खाएपछि तत्कालै दांत सफा गर्नुपर्छ । मानिसहरुका केही खराब बानी जस्तै चुरोट पिउदा, सूर्ती चपाउंदा पनि श्वास गन्हाउछ । कतिपय अवस्थामा आन्द्रा वा पेटमा समस्या हुंदा पनि मुख गन्हाउंछ । पेटको अल्सर भएमा यस्तो समस्या आउंछ । त्यस्तै, कार्बोहाइड्रेड न्यून भएका भोजन खांदा पनि श्वास गन्हाउंछ । यस्ता खानाले केटोन नामक दुर्गन्ध फाल्ने भएकाले श्वास गन्हाउंछ ।

तपाईंको मुखभित्र ब्याक्टेरिया भएमा पनि श्वास गन्हाउंछ । ससाना ब्याक्टेरिया तपाईंका दांत र जिब्रोमुनि लुकेका हुन सक्छन् । यी ब्याक्टेरिया मुखभित्र रहेर अन्य ब्याक्टेरिया उत्पादन गर्नुका साथै निरन्तर दुर्गन्ध छाडेका हुन्छन्, जसका कारण हाम्रो मुख नराम्ररी गन्हाउंछ ।

केही टिप्स
श्वास गन्हाउने समस्या भएमा दिनमा दुई पटकसम्म दांत माझ्नुहोस् । विहान उठ्नेबित्तिकै र बेलुकी खाना खाएपछि दांत ब्रस गर्दा यो समस्याबाट मुक्ति पाउन सकिन्छ । दांत माझ्दा जिब्रोलाई पनि राम्रोसंग घोट्नुहोस् । ब्रसले घोट्दा जिब्रोमा अल्झिएका व्याक्टेरिया बाहिर आई केही हदसम्म दुर्गन्धबाट मुक्ति पाइन्छ । विशेष गरी जिब्रोको टुप्पो र टन्सिल रहेको ठांउमा यस्ता व्याक्टेरिया रहेका हुन्छन् । एक अध्ययनअनुसार जिब्रोलाई ब्रसले घोट्दा मात्रै मुखको दुर्गन्ध ७० प्रतिशतले घट्छ ।

सकभर नुनिलो टुथपेस्ट प्रयोग गर्नुहोस् । यस्ता टुथपेस्ट दांतलाई बचाउने मात्र होइन, मुखको दुर्गन्ध पनि हटाउन सहयोगी सिद्ध भएका छन् । विशेष गरी ब्रसमा एक चिम्टी नुन राखेर जिब्रो घोट्दा तपाई यस समस्याबाट छिट्टै मुक्ति पाउनुहुन्छ ।

पर्याप्त पानी पिउनुहोस् । मुख सुख्खा भयो भने पनि श्वास गन्हाउंछ । बिहान उठ्नेबित्तिकै ताजा र चिसो पानी पिउनुहोस् । समय समयमा थोरै थोरै पानी पिउंदा यो समस्याबाट मुक्त मिल्छ । पर्याप्त दही खानुहोस् । दहीले नराम्रो व्याक्टेरिया मारिदिने भएकाले खाना खाइसकेपछि नियमित दही खांदा पनि श्वासको दुर्गन्धबाट मुक्ति मिल्छ । श्वासलाई स्वच्छ बनाउन चुइगम, सुकमेल लगायतका चिज पनि चवाउन सकिन्छ । त्यस्तै हर्बल टी र दालचिनीको सेवनले पनि केही हदसम्म मुक्त पाउन सकिन्छ । ताजा स्वच्छ फलफूल स्याउ, केरा, सुन्तला, गांजर र कांक्रो खानुहोस् ।

कतिपय अवस्थामा दांतको कारण मुख गन्हाउने भएकाले कम्तीमा छ महिनाको एकपटक दन्त चिकित्सक कहां जानुहोस् ।

प्रतिक्रिया दिनुहोस
Advertisement